काठमाडौं, मंसिर ४ । काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, थाइल्यान्ड र बंगलादेशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोह नोभेम्बर २१ तारिख दिउँसो १ बजे हुनेछ भने सोही दिन दिउँसो २ बजेदेखि लिग चरणका खेल सुरु हुनेछन्। उद्घाटन खेलमा नेपालले थाइल्यान्डको सामना गर्नेछ। दोस्रो खेलमा भारत र बंगलादेश भिड्नेछन्। नोभेम्बर २२ मा भारत र नेपालबीच दिउँसो २ बजे खेल हुनेछ।
त्यस्तै, दिउँसो ३ बजे थाइल्यान्ड र बंगलादेश, ४ बजे भारत र थाइल्यान्ड तथा ५ बजे बंगलादेश र नेपालबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अन्तिम दिन नोभेम्बर २३ मा लिग चरणबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ।
राउन्ड रोबिन प्रणालीमा प्रतियोगिता
प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। जसअनुसार प्रत्येक टोलीले अन्य तीन टोलीसँग एक–एक खेल खेल्नेछ। लिग चरणमा सबै टोलीले तीन खेल खेल्नेछन्। खेलमा जित हात पार्ने टोलीले दुई अंक, बराबरी गर्ने टोलीले एक अंक र पराजित हुने टोलीले शून्य अंक प्राप्त गर्नेछन्। लिग चरणको अंक तालिकामा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन्। अखिल नेपाल कबड्डी संघका सहायक प्राविधिक निर्देशक तारका राज भट्ट र प्राविधिक निर्देशक रवि सेट्टीले प्रतियोगितासम्बन्धी जानकारी दिएका छन्। यस प्रतियोगिताले नेपालमा कबड्डी खेलको विकास, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक अनुभव र चार राष्ट्रबीच खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।