काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा चितवन राइनोजका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको सुदूरपश्चिमले पहिलो इनिङ्समा बलिङ गर्नेछ।
सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। लिग चरणको खेलमा ७ खेलमा ५ जित र २ हारसहित सुदूरपश्चिम रोयल्सले शिर्ष २ मा लिग सकेको थियो।
चितवन राइनोजले भने लिग चरणको ७ खेलमा ३ जित ३ हार र १ खेलमा वर्षा बाधक बन्दा लुम्बिनी लायन्ससँग अंक बाँड्दै ७ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो। एलिमिनेटरमा चितवनले काठमाडौं गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
चितवनले पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो। पहिलो संस्करणमा चितवनले प्लेअफमा स्थान बनाए पनि एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो। दोस्रो संस्करणमा भने अंक तालिकाको सातौं स्थानमा रहँदै चितवनले प्रतियोगिता सकेको थियो।
सुदूरपश्चिम रोयल्सले पनि तीन संस्करण सम्ममा अहिले सम्म दोस्रो क्वालिफायर खेलेको थिएन। पहिलो संस्करणमा पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको थियो। दोस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।