नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको प्रचारप्रसारलाई थप प्रभावकारी र व्यापक बनाउन नेपालगन्ज म्याराथन र साझा पाटी डट कमबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार साझा पाटी म्याराथनको न्युज एग्रिगेटर पार्टनरका रूपमा जोडिएको छ । सम्झौतापत्रमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र साझा पाटीका प्रबन्ध निर्देशक प्रवीण अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि डिजिटल दुनियाँमा साझा पाटीसँगको सहकार्यले नेपालगन्ज म्याराथनलाई थप चर्चित बनाउन र यसको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्याउन मद्दत पुग्ने विश्वास म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले व्यक्त गरे । पछिल्लो समय डिजिटल माध्यमको प्रभाव र पहुँच बढिरहेको अवस्थामा समाचार तथा सूचना प्रवाहमा साझा पाटीसँगको सहकार्य महत्वपूर्ण हुने उनको भनाइ छ । त्यस्तै, साझा पाटीका प्रबन्ध निर्देशक अधिकारीले नेपालगन्ज म्याराथनसँगको सहकार्यले साझा पाटीको विस्तार र प्रचारप्रसारमा थप योगदान पुग्ने अपेक्षा व्यक्त गरे । खेलकुद क्षेत्रसँग जोडिन पाउनु र त्यसमा पनि एथ्लेटिक्सजस्तो महत्वपूर्ण विधासँग सहकार्य गर्न पाउनु थप खुसीको विषय भएको उनले बताए । साझा पाटी डट कम समाचार एग्रिगेटर प्लेटफर्म हो । यसले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई एकै स्थानमा उपलब्ध गराउँदै पाठकलाई सत्य तथ्य समाचार तथा सूचना सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ । धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण यही मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुँदैछ । स्थानीय बीपी चोकबाट सुरु हुने प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर, कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, फेमिली रनलगायत १२ विधा समावेश छन् ।
सन् २०१५ देखि नियमित रूपमा आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनले पछिल्ला वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ । विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई कम्युनिटी र पार्टनरका रूपमा जोड्दै आएको आयोजकले यस वर्ष पनि समुदायको सहभागिता र सहकार्यलाई प्राथमिकता दिएको छ ।