दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्णसहित १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

  • Image नेप्लेज
  • ३ मंसिर २०८३, बिहिवार
  • 57 पटक हेरिएको
दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्णसहित १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

राखेपले बिहीबार काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको तयारी, खेल सञ्चालन हुने स्थान, सहभागी टोली, खेलाडी संख्या तथा पुरस्कारबारे जानकारी गराएको हो।

कार्यक्रममा राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो।

राखेपका अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८३ साल मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने समापन समारोह मंसिर २७ गते सोही रंगशालामा आयोजना गरिनेछ। केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रत्येक टोलीबाट ६६० खेलाडी सहभागी हुनेछन्। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।

प्रतियोगिताका खेल कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, सल्यान र पश्चिम रुकुमसहित बाँकेको नेपालगन्ज तथा बर्दियामा सञ्चालन हुनेछन्। सबैभन्दा बढी २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। नेपालगन्ज, बर्दिया र सल्यानमा दुई–दुई तथा दैलेख, कालिकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन गरिनेछ।

प्रतियोगितामा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक रहेका छन्।

पुरस्कारतर्फ व्यक्तिगत विधामा स्वर्ण पदक विजेताले २० हजार, रजत पदक विजेताले १५ हजार र कांस्य पदक विजेताले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, टिम विधामा स्वर्ण जित्ने टोलीले १५ हजार, रजत जित्ने टोलीले १० हजार र कांस्य जित्ने टोलीले ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

राखेपका अनुसार यसपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय गरी कुल १ हजार ३० निर्णायक परिचालन गरिनेछन्।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment