हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 22 पटक हेरिएको
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

काठमाडौं । २०८३ साल कार्तिक २९ गते आइतबार हिमालयन जुनियर चेस च्याम्पियनसिपमा आइतबार सुहानी सिंह र एल्बिक अधिकारी च्याम्पियन भएका छन् ।

सुहानी यू १२ गल्र्स र एल्बिक यू १२ ब्वाइजमा च्याम्पियन भएका हुन् । हिमालयन चेस एकेडेमीको काठमाडौं ११ थापाथालीस्थित चेस हलमा आयोजित प्रतियोगितामा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी सुहानीले शतप्रतिशत जितसहित ४ अंक बटुल्दै पहिलो स्थान हासिल गरेकी हुन् ।

सेन्ट मेरिजकी श्रीशा बल्ल ३ अंकसहित दोस्रोमा रहिन् भने कश्यप एकेडेमीकी प्रसन्ना चौधरी २ अंक जोड्दै तेस्रो भइन् । यू १२ ब्वाइजतर्फको उपाधि होड निक्कै रोचक रह्यो । स्वीस लिग प्रणालीको आधारमा १० मिनेट र प्रतिचाल थप ५ सेकेन्डको आधारमा सञ्चालित र्यापिड चेसमा

काठमाडौं वल्र्ड स्कुलका एल्बिक अधिकारी, माछापुच्छे स्कुलका रियांश महर्जन र बुद्ध इन्टरनेसनल स्कुलका इंगित कोर्मोचाले समान ४ अंक जोडे । समान अंक भएपनि बुकोल्जको आधारमा एल्बिक पहिलो भएका हुन् ।

बुकोल्जमा एल्बिकले १३.५ अंक बनाउँदै ट्रफी हात पारे । बुकोल्जमा १२.५ अंकसहित रियांश उपविजेता भए । इंगित बुकोल्जमा ११.५ अंकसहित तेस्रोमा रहे । विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे । एकदिने प्रतियोगितामा १८ स्कुलका १९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जसमा ब्वाइजतर्फ १४ र गल्र्समा ५ जना थिए ।

जुनियर खेलाडीलाई एक्सपोजर दिने उद्देष्यले हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन जुनियर चेस च्याम्पियनसिप’मा यू ८, १०, यू १२ र यू १४ गल्र्स र ब्वाइज गरी कुल आठ वटा प्रतियोगिता सञ्चालन गरेको हो ।

अब बाँकी यू १४ को प्रतियोगिता मंसिर ६ गते हुनेछ । त्यसपछि ‘ग्रयान्ड फाइनल’ मंसिर १३ गते आयोजना गर्ने एकेडेमीले जनाएको छ । यसअघि सम्पन्न यू ८ ब्वाइजमा जेम्स स्कुलका विरा सारडा, गल्र्समा काष्ठमण्डप विद्यालयकी सहस्रा क्षेत्री तथा यू १० ब्वाइजमा रातो बंगलाका शुभांग प्रधान र गल्र्समा सेन्ट मेरिजकी श्रीशा बल्लले सफलता हात पारेका थिए ।