रोड टु यूएफसीको फाइनलमा भिड्दै रविन्द्र, उपाधिका लागि जापानी खेलाडीसँग प्रतिस्पर्धा

  • Image नेप्लेज
  • २ मंसिर २०८३, बुधवार
  • 50 पटक हेरिएको
रोड टु यूएफसीको फाइनलमा भिड्दै रविन्द्र, उपाधिका लागि जापानी खेलाडीसँग प्रतिस्पर्धा

काठमाडौं । नेपाली एमएमए स्टार रविन्द्र धान्टले रोड टु यूएफसी सिजन ५ को फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

ब्यान्टमवेट विधाको फाइनल खेल आगामी २०२७ फेब्रुअरी ७ मा हुनेछ । उक्त भिडन्तमा जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्न सके रविन्द्रले आफ्नो करियरमा ठूलो उपलब्धि हासिल गर्नेछन् ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एमएमएमा प्रभाव जमाइरहेका रविन्द्रका लागि यो फाइनल ऐतिहासिक अवसर हुनेछ ।

रोड टु यूएफसी एसियाली क्षेत्रका प्रतिभाशाली फाइटरहरूलाई विश्वकै प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स (एमएमए) संस्था यूएफसीसम्म पुग्ने अवसर प्रदान गर्ने प्रतियोगिता हो ।

अब फाइनलमा रियो ताजिमालाई हराउँदै रविन्द्रको लक्ष्य यूएफसीमा स्थान बनाउने हुनेछ । नेपाली खेलप्रेमीले पनि उनको यस महत्वपूर्ण भिडन्तलाई प्रतीक्षा गरिरहेका छन् ।