काठमाडौं । नेपाली क्रिकेट टोलीले आगामी वर्ष इङ्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।
मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)ले सन् २०२७ जुन ३ मा नेपाल र बंगलादेशबीच पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने घोषणा गरेको हो ।
यो खेल लर्ड्स मैदानमा हुनेछ, जसलाई क्रिकेटको घरसमेत भनिन्छ । नेपाल र बंगलादेशबीचको उक्त खेलपछि सोही दिन लर्ड्समा मिडलसेक्सको टी–२० ब्लास्टअन्तर्गत घरेलु खेलसमेत हुनेछ । लर्ड्समा पहिलोपटक एउटै दिन अन्तर्राष्ट्रिय र घरेलु पुरुष क्रिकेटका दुई खेल आयोजना हुन लागेका हुन् ।
नेपाल र बंगलादेशका समर्थकले प्रत्यक्ष टेलिभिजनमार्फत खेल हेर्न सक्ने गरी समय निर्धारण गरिने एमसीसीले जनाएको छ । आयरल्यान्ड र स्कटल्यान्डसँग पनि खेल्ने एमसीसीको आयोजनामा हुने इङ्ल्यान्ड भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।
भ्रमणअन्तर्गत नेपालले जुन १ मा वर्मस्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल हुनेछ । नेपालले जुन ६ मा आयरल्यान्डसँग वर्मस्लीमा ५० ओभरको खेल खेल्नेछ भने जुन ९ मा सोही मैदानमा टी–२० खेल हुनेछ । त्यस्तै, जुन ११ र १२ मा बेकनह्याममा आयरल्यान्डसँग थप दुई टी–२० खेल खेल्ने कार्यक्रम छ । यी सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल हुनेछन् ।
इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले पनि भ्रमणलाई स्वीकृति दिएको छ । लर्ड्समा दोस्रोपटक टी–२० खेल्दै नेपाल नेपालले सन् २०१८ मा एमसीसीसँगको त्रिकोणात्मक शृंखलाअन्तर्गत नेदरल्यान्ड्ससँग लर्ड्समा खेलेको थियो ।
आगामी खेल उक्त मैदानमा नेपालको दोस्रो पुरुष टी–२० अन्तर्राष्ट्रिय हुनेछ । बंगलादेशको पुरुष टोलीले भने लर्ड्समा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । बंगलादेशको महिला टोलीले यसअघि यसै वर्ष दक्षिण अफ्रिकासँग आईसीसी महिला टी–२० विश्वकपका क्रममा लर्ड्समा खेलेको थियो । बंगलादेशको पुरुष टोलीले आगामी वर्ष मे महिनाको अन्त्यतिर इंग्ल्यान्डसँग लर्ड्समै टेस्ट खेल्ने कार्यक्रम पनि छ । १७ वर्षपछि बंगलादेशको पुरुष टोली लर्ड्समा टेस्ट खेल्न लागेको हो ।
नेपाली क्रिकेट विकासमा एमसीसीको सहकार्य एमसीसी र नेपाल क्रिकेट संघ (क्यान)बीच पछिल्ला वर्षमा सहकार्य विस्तार हुँदै आएको छ । एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सामाजिक परिवर्तन र युवा सहभागिता बढाउने उद्देश्यले काम गर्दै आएको छ । क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा क्रिकेट परियोजना सञ्चालन भइरहेका छन् । गत वर्ष मात्रै यी परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । परियोजनाबाट लाभान्वित केही खेलाडी नेपाली राष्ट्रिय युवा टोलीमा समेत छनोट भएका छन् । एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाली क्रिकेटप्रतिको असाधारण लगाव आफूहरूले प्रत्यक्ष देखेको बताउँदै लर्ड्समा नेपाल र बंगलादेशबीचको खेल आयोजना गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
क्यानका सचिव पारस खड्काले लर्ड्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए । त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बंगलादेशजस्तो आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग लर्ड्समा खेल्न पाउनु ऐतिहासिक उपलब्धि हुने बताए । यस्तै, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष तामिम इकबालले पनि नेपाल र बंगलादेशका क्रिकेटप्रेमीलाई एउटै ऐतिहासिक अवसरमा जोड्ने यो खेल विशेष हुने बताए ।