कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त

  • Image नेप्लेज
  • २० आश्विन २०८३, मङ्गलवार
  • 75 पटक हेरिएको
कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त

काठमाडौं। राष्ट्रिय रग्बी टोलीका पुर्व कप्तान कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षकमा नियुक्त भएका छन्। 

नेपाली सेनाले उनलाई सेनाको महिला र पुरुष दुबै टोली हेर्ने गरी प्रशिक्षक नियुक्त गरेको हो। न्युजिल्यान्ड र अस्ट्रेलियाबाट 'कोचिङ एक्सपोजर' प्रशिक्षण लिएर फर्केका थापासंग अन्तर्राष्ट्रिय र घरेलु प्रशिक्षणको लामो अनुभव छ। 

खेलाडीको रुपमा थापाले राष्ट्रिय रग्बी सेभेन्स र फिफ्टिन्स दुबैमा कप्तानीको भूमिका निर्वाह गरिसकेका छन्। थापाले राष्ट्रिय यु १८ रग्बी टोलीका प्रशिक्षक रहिसकेका छन्।  उनको प्रशिक्षणमा युवा टोलीले भारत र बंगलादेशलाई पराजित गरेको थियो। 

त्यसैगरी उनकै प्रशिक्षणमा राष्ट्रिय सेभेन्स ब्वाइज टिमले सन् २०२३मा बंगलादेशलाई पराजित गरेको थियो। जुन नेपाली रग्बीको पहिलो अन्तर्राष्ट्रिय जित पनि थियो। उनले यु १४ एसियन एक्सचेञ्ज फेस्ट जापानमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। 

राष्ट्रिय तहमा उनी लुम्विनि प्रदेश र कर्णाली प्रदेशका प्रशिक्षक रहिसकेका छन्। उनको प्रशिक्षणमा लुम्विनीले नवौं बृहत राष्ट्रिय खेलकुदमा रजत पदक जितेको थियो भने कर्णाली प्रदेशले रारा सेभेन्स, पोखरा सेभेन्स र बाग्मती सेभेन्सको च्याम्पियन बनेको थियो। 

थापा नेपाली रग्बीको चर्चित क्लब गोर्खाली रग्बी क्लबका उपाध्यक्ष र प्रशिक्षक पनि हुन्। गोर्खाली क्लबले उनको नेतृत्वमा थुप्रै उपाधी जितेका छन्। 
खेलाडीका रुपमा कृष्णको कार्यकालमा थुप्रै उपलब्धिहरु हात पारेका छन्। जसमा सन् २०२२ मा बंगलादेशमा खेलेको रग्बी-१५ खेललाई नेपाली रग्बी विकासको ठूलो फड्को मानिन्छ।

७ खेलाडी सम्मिलित रग्बी सेभेन्स मात्र खेलिरहेको नेपालले त्यो बेला ढाकामा 'वङ्गबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी शृङ्खला' खेल्यो, जुन १५ जना खेलाडीहरूले खेल्ने 'रग्बी १५' मा नेपालको पहिलो सहभागिता थियो। उक्त प्रतियोगिता खेलेसँगै नेपालले विश्व रग्बी महासंघबाट पूर्ण सदस्यता प्राप्त गरेको थियो भने नेपालले अन्तर्राष्ट्रिय रग्बीमा डिभिजन ३ खेल्ने राष्ट्रको रूपमा प्रवेश पाएको थियो।

त्यस्तै खेलाडीका रुपमा उनले सन् २०१६ मा कतारमा एसियन रग्बी च्याम्पियनसिप र सिंगापुरमा एसियन रग्बी च्याम्पियनसिप २०१७ तथा ताइवानमा युनिभर्सियाड २०१७ मा भाग लिएका थिए।