क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

  • Image नेप्लेज
  • १९ कार्तिक २०८३, बिहिवार
  • 64 पटक हेरिएको
क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

काठमाडौं : पोर्चुगलका कप्तान तथा विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय रोनाल्डोले आफ्नो देशका लागि २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै पोर्चुगलको राष्ट्रिय टोलीको सात नम्बर जर्सी अब नयाँ पुस्तालाई सुम्पिने समय आएको बताएका छन् ।

‘पोर्चुगलका जनताका लागि अब राष्ट्रिय टोलीको सात नम्बर जर्सी फिर्ता गर्ने दिन आएको छ । यो जर्सी कहिल्यै मेरो मात्रै थिएन । तर २३ वर्षसम्म यसलाई लगाउने, यसको रक्षा गर्ने र विश्वभरका मैदानमा प्रतिनिधित्व गर्ने अवसर र जिम्मेवारी पाएँ,’ उनले भनेका छन् ।

उनले अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय सहज नभएको पनि बताएका छन् । ‘यो सजिलो निर्णय थिएन । किनकि केही निर्णय दिमागले मात्रै होइन, मनले पनि लिनुपर्छ,’ रोनाल्डोले भनेका छन् ।

सन् २००३ को अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा कीर्तिमानी २३४ खेल खेलेका छन् । उनले देशका लागि १४६ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान उनकै नाममा छन् ।