नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु

  • Image नेप्लेज
  • २७ आश्विन २०८३, मङ्गलवार
  • 45 पटक हेरिएको
नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु

काठमाडौं, असोज २७ गते । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो। तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी छन्। प्रशिक्षण हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रशिक्षणका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको हो। टोलीमा मेरुदण्डको चोट पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि छन्।

प्रशिक्षणमा नेपालका कृष्ण थापा र श्रीराम श्रेष्ठ प्रशिक्षकका रूपमा सहभागी छन् भने अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालाको पनि सहभागिता छ। कार्यक्रमका लागि नेपाल रग्बी संघले प्रशिक्षक तथा रेफ्री व्यवस्थापनमा सहयोग र सहकार्य गरेको छ।

प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेल कौशल, रणनीति, खेलाडीको शारीरिक क्षमता विकास, चोट रोकथाम तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।

नेपालमा ह्विलचेयर रग्बीको जग बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले खेलाडीको सीप र क्षमता विकास गर्नुका साथै नेपाली खेलाडीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तयार गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।