आइतबारदेखि दोस्रो शिखर ढकाल स्मृति यू–१७ राष्ट्रिय रग्बी

  • Image नेप्लेज
  • २४ आश्विन २०८३, शनिवार
  • 110 पटक हेरिएको
आइतबारदेखि दोस्रो शिखर ढकाल स्मृति यू–१७ राष्ट्रिय रग्बी

सिन्धुली, असोज २४ गते। सिन्धुलीको फिक्कल गाउँपालिकामा आइतबारदेखि दोस्रो शिखर ढकाल स्मृति यू–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता सञ्चालन हुने भएको छ।

फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषतर्फ गरी कुल ११ टोली सहभागी हुनेछन्।

गत वर्ष फिक्कल गाउँपालिकाकै आयोजनामा पहिलो शिखर ढकाल स्मृति यू–१६ राष्ट्रिय रग्बी प्रतियोगिता सम्पन्न भएको थियो। स्वर्गीय शिखर ढकालको स्मृतिमा प्रतियोगिता आयोजना गरिँदै आएको हो।

यस वर्षको प्रतियोगितामा पाँच प्रदेशका स्थानीय तहका टोली सहभागी रहेका छन्। प्रतियोगिता लिग तथा नकआउट प्रणालीमा सञ्चालन हुनेछ। महिलातर्फ ६ र पुरुषतर्फका ५ टोलीलाई छुट्टाछुट्टै दुई समूहमा विभाजन गरिएको छ।

पुरुषतर्फ समूह ‘ए’ मा टोखा नगरपालिका, गोलबजार नगरपालिका र फिक्कल गाउँपालिका छन्। समूह ‘बी’ मा बूढानीलकण्ठ नगरपालिका र कटारी नगरपालिका रहेका छन्।

महिलातर्फ समूह ‘ए’ मा टोखा नगरपालिका, गोलबजार नगरपालिका र बूढानीलकण्ठ नगरपालिका छन्। समूह ‘बी’ मा कटारी नगरपालिका, फिक्कल गाउँपालिका र लुम्बिनी नगरपालिका रहेका छन्।

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले २० हजार तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। अन्य सहभागी टोलीलाई प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीयस्तरबाटै रग्बी खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले युवा खेलाडीको प्रतिभा पहिचान र राष्ट्रियस्तरमा उनीहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गत संस्करणमा पुरुषतर्फ कर्णाली प्रदेश र महिलातर्फ कटारी नगरपालिकाले उपाधि जितेका थिए। यसपटक दुवै विधाका टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।