पहिलो पटक बाँकेमा पौडीको लाइफ गार्ड तालिम

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 71 पटक हेरिएको
पहिलो पटक बाँकेमा पौडीको लाइफ गार्ड तालिम

नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लबले बाँकेमा पहिलो पटक पौडीको लाइफ गार्ड तालिम दिएको छ ।

क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा सञ्चालित ५ दिने लाइफ गार्ड तालिम शुक्रबार सम्पन्न भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपक वर्मा र नेपालगन्ज स्वीमिङ क्लबका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सूर्यमणि अधिकारीले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । वडा अध्यक्ष वर्माले पौडी पोखरीमा हुने डुबान न्यूनिकरणका लागि मात्र नभएर बाढी प्रभावित बाँके र बर्दियाका बाढी प्रभावितका लागि उद्दार र प्राथमिक उपचारमा तालिम निकै उपयोगी हुने दाबी गर्नुभयो ।

कार्यवाहक अध्यक्ष अधिकारीले पश्चिम नेपालमै पहिलो पटक लाइफ सेभिङ तालिम आयोजना गरेको बताउँदै सहभागीहरुलाई तालिममा सिकेको ज्ञान र सीप डुबानमा पर्ने ब्यक्तिहरुको उद्दार गरेर कार्यान्वयन गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, पौडी खेल मात्र होइन । यो जीवन रक्षाकोे सीप पनि हो । पौडी खेलेर डुबानबाट सिक्ने विधि सिक्नु भएको थियो । अब लाइफ सेभिङ किट पनि पाउनु भएको छ । अब उद्दारमा पनि लाग्नुहुनेछ ।

सो अवसरमा क्लबका संरक्षक तथा आजीवन सदस्य कमलकुमार कार्कीले सहभागीहरुलाई आफूले सिकेको सीप र ज्ञानलाई मानवीय सेवाको क्षेत्रमा लगाउन आग्रह गर्नु भएको थियो ।

तालिममा नेपाल पौडी संघका प्राविधिक निर्देशक तथा पौडीका अन्तर्राष्ट्रिय रेफ्री विष्णु खड्का क्षेत्रीको नेतृत्वमा पौडी प्राविधिकहरु ईश्वर कार्की, अनिष महर्जन र दीपक सागर सिंहका साथै नेपाल रेडक्रस सोसाइटी बाँकेका सीपीआर/फस्ट एड इन्टक्चर प्रह्लाद विश्वकर्माले सहजीकरण गर्नु भएको थियो । नेपाली सेनाका २ जनाका साथै बाँकेमा रहेका तारे होटलका पौडी पोखरीका लाइफ गार्ड र पौडी खेलाडीहरु गरी १५ जनाको सहभागिता रहेको क्लबका महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । नेपालगन्ज स्वीमिङ क्लबले यस अघि संघकै प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक पौडी प्राविधिक तालिम दिएको थियो ।

वडा अध्यक्ष वर्मालाई सम्मान

नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १८ का वडा अध्यक्ष दीपक वर्मालाई सम्मान गरेको छ ।

हालै सम्पन्न नबिल बैंक नेपालगन्ज तेस्रो इन्टरनेशनल स्वीमिङ च्याम्पियनसीप २०८३ मा सहयोग गरेर पौडी खेलको प्रबद्र्धन गरेको भन्दै क्लबका कार्यवाहक अध्यक्ष सूर्यमणि अधिकारी, कोषाध्यक्ष ऋषिराम कँडेल, क्लबका संरक्षक तथा आजीवन सदस्यद्वय कमलकुमार कार्की र राजीव तलंगाले वडाध्यक्ष वर्मालाई सम्मान गर्नु भएको हो ।

फोटो सौजन्य : नेपालगन्ज स्वीमिङ क्लब