काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं ।’
अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिसमलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउाछन् ।
जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए ।
२१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यु–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् । यस्तै, बंगलादेशको फ्रेन्चाइज टोलीहरु राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५ सय ७१ रन बनाएका छन् ।
जिसनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले ९ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाएका थिए । उनले सो खेलमा २९ बलमा तीन चौका र ४ छक्का हिर्काएका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका हुन् ।
कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दैछ । सो खेलमा जिशन उपलब्ध हुनेछन् । प्रतियोगिताको पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।