धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 83 पटक हेरिएको
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगन्ज म्याराथनसँग कम्युनिटी पार्टनरका रुपमा सहकार्य गर्ने भएको छ ।

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लब अन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा बिशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

विश्व म्याराथनको एकमात्र प्रतिष्ठित पुरस्कार एम्स सोसल अवार्ड २०२६बाट सम्मानित नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका  अध्यक्ष इश्वरीजंग मल्लबीच सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता पाँच वर्षका लागि गरिएको बताइएको छ । ह्वीलचेयर ३ किमी रेसमा विशेष सहयोग गर्नुका साथै आफ्ना सम्पुर्ण सदस्यहरुलाई कुनै न कुनै विधामा औपचारिक ढंगले दौडाउने रोटरीको तयारी रहेको छ । ‘रोटरीसँग जोडिएका सबैलाई कुनै न कुनै रुपमा जोड्छौं ।’ बाँकेका अध्यक्ष मल्लले भने–‘समुदायलाई दौडसंस्कृतिसँग जोड्दै सामाजिक एकताको अभियानमा हाम्रो सदैव साथ रहनेछ, गभर्नर ज्यु नै यस अभियानमा निकै सकारात्मक हुनुहुन्छ ।’ रोटरीमा विभिन्न पेशाका उद्यमी, डाक्टर, इन्जिनियर, सिए, बैंकर, शिक्षक, पत्रकार आवद्ध छन् ।

धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण यही मंसिर १२ गते शनिवार नेपालगन्जमा हुने भएको छ । यसवर्ष १२ वटा सामुदायिक संस्थासँग कम्युनिटी पार्टनरका रुपमा काम गर्ने तयारी भएको दर्ता विभाग प्रमुख गगन थापाले जानकारी दिए । स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनअन्तर्गत ४२ किलोमिटर पुरुष खुल्ला, २१ किलोमिटर महिला खुल्ला, १० किलोमिटर पुरुष खुल्ला, १० किलोमिटर महिला खुल्ला, ५ किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र छात्रा दौड, ३ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, ३ किमी ह्वीलचेयर रन, २ किमी फेमिली रन र ३ किमी रन फर अल गरेर १२ विधा समावेश गरिएको छ ।

म्याराथन(४२किमी)पुरुष खुल्ला भएपनि महिलाले आफ्नो व्यक्तिगत समयका लागि दौड्न चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइने छ । त्यसैगरी महिला हाफ म्याराथन(२१किमी) महिलाका लागि भएतापनि पुरुष धावकले समय सुधारका लागि दौड्ने चाहेमा विद्युतीय चिप्स प्रधान गरिने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । ४२ किमीतर्फ विभिन्न उमेर समुहमा वरियताक्रम निकालिने समेत उनले जानकारी दिए । यसमा ४० देखि ५०वर्ष, ५० देखि ६० वर्ष उमेर समुह, ६० देखि ७० वर्ष उमेर समुहलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरेर प्रोत्साहन गरिनेछ ।

एबोट वल्र्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समुहको धावकलाई विश्वव्यापी वरियतामा समेत समावेश गरिदै आएको छ, यसपट पनि गरिनेछ । साथै उमेर समुहको वल्र्ड च्याम्पियनसीपमा सहभागितामा सहजीकरण गरिनेछ । त्यसैगरी विभिन्न विधाका शीर्ष धावकहरुलाई मेजर म्याराथन लगायत वल्र्ड एथ्लेटिक्सको प्लेटिनम, गोल्ड, इलाईट र लेवल रेसहरुमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो ।