एसियाली खेलकुदमा चीनकी १३ वर्षीया यु जिदीको ह्याट्रिक, कीर्तिमानी समयसहित तेस्रो स्वर्ण पदक

  • Image नेप्लेज
  • ७ आश्विन २०८३, बुधवार
  • 84 पटक हेरिएको
एसियाली खेलकुदमा चीनकी १३ वर्षीया यु जिदीको ह्याट्रिक, कीर्तिमानी समयसहित तेस्रो स्वर्ण पदक

काठमाडौं : चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीले एसियाली खेलकुदमा कीर्तिमानी समयसहित तेस्रो स्वर्ण पदक जितेकी छन् । उनले महिला ४०० मिटर इन्डिभिजुअल मेडले स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो तेस्रो सफलता दर्ता गरेकी हुन् ।

जिदीले निर्धारित दूरी ४ मिनेट २८.५६ सेकेन्डमा पूरा गर्दै नयाँ एसियाली खेलकुद कीर्तिमान कायम गरिन् । यसअघि सन् २०१४ मा चीनकै ये शिवेनले बनाएको कीर्तिमानलाई उनले करिब ४.५ सेकेन्डले पछि पारिन् । यो समय चालु वर्ष विश्वकै चौथो तीव्र समय हो ।

यस जितसँगै जिदीले जारी एसियाली खेलकुदमा आफ्ना तीनवटै व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्दै क्लिन स्विप गरेकी छन् । उनले यसअघि २०० मिटर बटरफ्लाई र २०० मिटर इन्डिभिजुअल मेडलेमा पनि नयाँ खेलकुद कीर्तिमानी समयसहित स्वर्ण पदक जितेकी थिइन् ।

प्रतियोगितामा चीनकै के वेनक्सीले रजत र जापानकी मियो नारिताले कास्य पदक प्राप्त गरे । जिदीले सुरुदेखि नै दौडमा अग्रता कायम गर्दै आफ्नै देशकी के वेनक्सीलाई ३.९५ सेकेन्डले पछि पारेकी थिइन् ।

गत वर्ष १२ वर्षको उमेरमा विश्व एक्वाटिक्स च्याम्पियनसिपमा चीनको रिले टोलीबाट कास्य पदक जित्दै उनी सो प्रतियोगिताको इतिहासकै सबैभन्दा कान्छी पदक विजेता बनेकी थिइन् । यस्तै, गत मार्चमा आयोजित चीन स्विमिङ ओपनमा उनले अमेरिकी सात पटककी ओलम्पिक पदक विजेता रेगन स्मिथलाई २०० मिटर बटरफ्लाईमा पराजित गरेकी थिइन् । दुई वर्षपछि आयोजना हुने २०२८ को लस एन्जलस ओलम्पिकका लागि उनलाई प्रमुख पदक दावेदारका रूपमा हेरिएको छ ।

वाटर पार्कमा एक प्रशिक्षकले प्रतिभा पहिचान गरेपछि प्रतिस्पर्धात्मक पौडी खेलमा भित्रिएकी जिदी सामाजिक सञ्जालमा पनि निकै चर्चित बनेकी छन् । अन्तरवार्ता दिन गाह्रो मान्ने उनीसँग सञ्चारकर्मीले प्रश्न सोध्दा उनले मुस्कुराउँदै भनिन्, 'हरेक पटक म अन्तै कतै तैरिँदै जान चाहन्छु ।'