१४ औँ एनएसए कप सर्ट कोर्स पौडी च्याम्पियनसिपको पहिलो दिन विभिन्न रोमाञ्चक प्रतिस्पर्धा, नयाँ राष्ट्रिय कीर्तिमान र खेलाडीहरूको उत्कृष्ट प्रदर्शन भएको छ।
प्रतियोगिताको पुरुष १५०० मिटर फ्रिस्टाइलको 'ए' फाइनलमा जेम्स स्कुलका मयन श्रेष्ठले १८:१०.३१ समय निकाल्दै प्रथम स्थान हासिल गरेका छन् भने नेपाल पुलिस क्लबका शिवांश मान कायस्थ र नेपाल एपिएफ क्लबका जेसन ना बज्राचार्य-डेविस क्रमशः द्वितीय र तृतीय भएका छन्।
यसैगरी, पुरुष ४०० मिटर फ्रिस्टाइलमा जेम्स स्कुलकै कल्किन श्रेष्ठले ४:१३.२७ को समयसहित नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन्।
पुरुष १०० मिटर बटरफ्लाइमा नेपाल पुलिस क्लबका एरविन श्रेष्ठले ५७.५१ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान र पहिलो स्थान हात पारेका छन् भने नेपाल आर्मीका आशिम भण्डारी र जेम्स स्कुलका मयन श्रेष्ठले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन्।
पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा आइरनफिन स्पोट्र्सका जादेन श्रेष्ठले १:०४.५५ को नयाँ राष्ट्रिय कीर्तिमानसहित पहिलो स्थान हात पार्दा पुलिस क्लबका एरविन श्रेष्ठ र जेभियर इन्टरनेसनल स्कुलका आरोन भण्डारी पछि परेका छन्। साथै, ५० मिटर फ्रिस्टाइलमा एरविन श्रेष्ठले २३.८० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित पुनः पहिलो स्थान सुरक्षित गरेका छन्।
महिलातर्फको ८०० मिटर फ्रिस्टाइलमा नेपाल एपिएफ क्लबकी लुमाना महर्जनले ११:४०.२९ समयसाथ प्रथम स्थान हासिल गर्दा निसर्ग बाटिका स्कुलकी आभा वैद्य र नेपाल आर्मीकी सुबी थापा क्रमशः द्वितीय र तृतीय भएकी छिन्।
महिला २०० मिटर व्यक्तिगत मेडले (IM) मा निसर्ग बाटिका स्कुलकी इरा अमात्याले २:४६.४८ समयमा पहिलो स्थान हात पार्दा जेम्स स्कुलकी श्रेया महर्जन र काव्या स्कुलकी सेरेने अवाले उपविजेता बनेका छन्।

यसैगरी, १०० मिटर व्यक्तिगत मेडलेमा इरा अमात्या र श्रेया महर्जन दुवैले १:१६.४१ को समय निकाल्दै संयुक्त रूपमा पहिलो स्थान हासिल गरेका छन्। महिला १०० मिटर ब्याकस्ट्रोकमा श्रेया महर्जनले प्रथम स्थान ओगटेकी छिन् भने लुमाना महर्जन र कोशी प्रदेशकी आयेशा पौडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन्। महिला १०० मिटर फ्रिस्टाइलमा नेपाल आर्मीकी दुवाना लामाले १:०१.७६ समयसहित स्वर्ण पदक जितेकी छिन् भने एपिएफकी आर्या महर्जन र द ब्रिटिस स्कुलकी रोयल प्रजापतिले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरेका छन्।
प्रतियोगिताको मिड्क्स ४x५० मिटर फ्रिस्टाइल रिलेको 'ए' फाइनलमा प्रविव प्रधान, अनाया श्रेष्ठ, आभा वैद्य र रेवान्तबहादुर श्रेष्ठ सम्मिलित निसर्ग बाटिका स्कुलको टोलीले १:५०.८७ समय निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।
उक्त रिले प्रतिस्पर्धामा नेपाल एपिएफ क्लब द्वितीय र नेपाल आर्मी त्रिभुवन आर्मी क्लब तृतीय स्थानमा रहेका छन्।