पोखरा, सानो गौचरण र धरान क्वार्टरफाइनलमा

  • Image नेप्लेज
  • १७ कार्तिक २०८३, मङ्गलवार
  • 127 पटक हेरिएको
पोखरा, सानो गौचरण र धरान क्वार्टरफाइनलमा

काठमाडौं । पोखरा ११, धरान सिटी एफसी र सानो गौचरण नाइट  किङ्स क्लबले मंगलबार समूह चरणको अन्तिम दिन आ–आफ्नो खेलमा अनुकुल नतिजा निकाल्दै जारी तेस्रो भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

पूर्व खेलाडीहरुको संगठन फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा मंगलबारका नतिजासँगै क्वार्टरफाइनल समिकरण पूरा भएको छ । प्रतियोगितामा यसअघि नै न्युरोड टिम (एनआरटी), नेपाली सेनाको त्रिभुवन आर्मी क्लब (टिएएफसी), फ्रिडम एफस्ी, जोरपाटी एफसी र चाबहिल एफसीले अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका थिए ।

पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले ह्याट्रिक गरेपछि पोखरा ११ ले इमाडोल युनिटी क्लबलाई ७–३ को फराकिलो अन्तरमा पराजित गर्यो । विजेता टोलीका लागि सुरेन्द्रको ह्याट्रिकसँगै बालकृष्ण लामाले दुई गोल गरे भने नरेन्द्र गुरुङ र सन्तोष केसीले १÷१ गोलमा नाम लेखाए । इमाडोल युनिटी क्लबका लागि सञ्जीवभक्त बिष्टले गरेका २ तथा गोविन्द महर्जनले गरेको १ गोल सान्त्वनामा सीमित भयो ।

अघिल्लो खेलमा सामाजिक क्लबमाथि ३–१ को जित हासिल गरेको पोखरा समूह ‘एच’ बाट सतप्रतिसत नजिताका साथ प्राप्त ६ अंकसहित अन्तिम ८ प्रवेश गरेको हो । अन्तिम ८ मा पोखराले बुधबार धरान सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालयमा मंगलबार धरानले अविजित यात्रा कायम राख्ने क्रममा हिलसाइड एफसीमाथि ४–० को जित हासिल गर्दै अन्तिम ८ को ढोका खोल्यो । धरानको जितमा रमेश राई बुद्ध चेम्जोङ, जीवन लिम्बुर केन्द्र लिम्बुले गोल गरेका थिए । समूह ‘एफ’ बाट ६ अंकका साथ अघि बढेको धरानले अघिल्लो खेलमा सोमबार वीरगञ्ज एकेडेमीमाथि ४–१ को जित निकालेको थियो ।

मंगलबारै अकों खेलमा हरिहर थापाले ह्याट्रिक गरेपछि सानो गौचरणले ८०ज एम भेट्रान्सलाई ४–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । सानो गौचरणको लागि अर्को गोल सुन्दर नेपालले गरेका थिए भने पराजित टोलीका लागि बालगोपाल साहुखल र जीवन श्रेष्ठले गोल गरे ।
समूह ‘जी’ को पहिलो खेलमा लाहन फुटबल क्लबमाथि ८–० को जित हासिल गरेको सानो गौचरणले अन्तिम ८ मा फ्रिडम एफसीसँग प्रतिस्पर्धा गर्नेछ । फ्रिडम समूह ‘इ’ बाट विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो ।

यसैबीच, समूह ‘इ’ बाट यसअघि नै बाहिरिइसकेका महावीर क्लब र कपन युनाइटेडबीचको प्रतिष्ठाको लडाईमा १–१ को बराबरी नतिजा निस्कियो । दुवै टोलीले पहिलो खेलमा फ्रिडमलाई नतिजा सुम्पिएका थिए । समूहको आफ्नो अन्तिम खेलमा कप्तान ध्रुव न्यौपानेको गोलमा कपनले सान्त्वना जित हासिल गर्ने संकेत गरेको थियो । तर समय सकिनै लाग्दा पूर्ण रानाले महावीरका लागि गोल गरेपछि खेल बराबरीमा टुंगियो ।

मध्यपुर युथ एसोसिएसनको भक्तपुरस्थित मैदानमा सुरु भएको प्रतियोगिता बेमौसमी झरीका कारण आइतबारबाट एन्फा मुख्यालयको मैदानमा सरेको थियो । मौसम सुधारिएसँगै मैदान मर्मतको काम सम्पन्न भएपछि बुधबारबाट प्रतियोगिताका बाँकी खेल सबै मध्यपुरमै हुनेछन् ।प्रतियोगिताका सबै क्वार्टरफाइनल खेल भोली बुधबार हुनेछन् भने बिहीबार सेमिफाइनल र शुक्रबार फाइनल हुने तालिका छ । क्वार्टरफाइनलका अन्य खेलमा जोरपाटीले छिमेकी टोली चाबहिल तथा एनआरटीले आर्मीसँग प्रतिस्पर्धा गर्नेछन् ।