उपाधि बागमतीलाई, लुम्बिनी उपविजेतामा सीमित

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 69 पटक हेरिएको
उपाधि बागमतीलाई, लुम्बिनी उपविजेतामा सीमित

काठमाडौं। बप्टिस कप फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश बप्टिस मण्डली परिषद्ले जितेको छ।

बिहीबार ललितपुरस्थित च्यासल रंगशालामा सम्पन्न फाइनलमा बागमतीले लुम्बिनी प्रदेश बप्टिस मण्डली परिषद्लाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।

बागमतीको जितमा भोजराज मगरले दुवै गोल गरे। उनले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई उपाधि नजिक पुर्‍याएका थिए। लुम्बिनीका लागि सुरज घर्ती मगरले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

उपाधिसँगै बागमतीले २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्दा उपविजेता लुम्बिनीले १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझायो।

प्रतियोगितामा बागमतीका कप्तान सुरज गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। बागमतीकै विजय श्रेष्ठ उत्कृष्ट रक्षक बने। लुम्बिनीका निशान्त न्यौपाने ७ गोलसहित सर्वाधिक गोलकर्ता घोषित हुँदा लुम्बिनीकै गोलरक्षक ओम पुन उत्कृष्ट गोलरक्षक बने। त्यस्तै, कोशी प्रदेशका ईश्वर धिमाल उत्कृष्ट प्रशिक्षक घोषित भए।

उत्कृष्ट खेलाडी, रक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्ता र ईश्वर धिमालले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको शीर्ष स्थानमा रहँदै लुम्बिनी फाइनल पुगेको थियो। तेस्रो स्थानमा रहेको बागमतीले प्लेअफमा कोशी प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। गण्डकी प्रदेश चौथो हुँदा कर्णाली र सुदूरपश्चिमका खेलाडी सम्मिलित टोली अन्तिम स्थानमा रह्यो।

प्रतियोगिताको मुख्य प्रायोजक नेपाल बप्टिस मण्डली परिषद् रहेको थियो। अमेरिकामा रहेका डा. प्रकाश मेघी गुरुङ सहप्रायोजकका रूपमा जोडिएका थिए। प्रतियोगिता सफल बनाउन विभिन्न सहयोगी संस्थाले पनि साथ दिएका थिए।

समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यद्वय अनिता बस्नेत र हिराकुमारी भुजेलको उपस्थिति रहेको थियो।

आयोजक बप्टिस स्पोर्ट्स क्लबले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा फाइनल खेलअघि केक काटेर वार्षिकोत्सवसमेत मनाएको थियो।