लेबनानमा नेपाली महिला टिमले फोर नेसन्स नखेल्ने !

भुटानमा प्रतियोगिता आयोजना गराउन पहल

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०८१-०३-१४
  • |
  • 4280 पटक हेरिएको

पछिल्लो समय इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा  आक्रमण गर्ने चेतावनी दिए पछि अन्तर्राष्ट्रिय जगतले ध्यानाकर्षण भएको जनाउँदै आफ्ना नागरिकलाई त्यहाँको भ्रमण नगर्न अपिल जारी गरेका छन् । लेबनानमा बढ्दो सुरक्षा चिन्ताको बीचमा भारत र अमेरिकाले आ–आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेका छन् । दुबै देशले आफ्ना नागरिकहरूलाई लेबनानको यात्रा योजनाहरूमा पुनर्विचार गर्न र सावधानी अपनाउन आग्रह गरेका छन् । यसैगरी, बेरुतस्थित रुसी दूतावासले पनि आफ्ना नागरिकहरूलाई देशको दक्षिणी भागको अवस्था सामान्य नभएसम्म लेबनान भ्रमण नगर्न सल्लाह दिएको छ ।

अमेरिकी दूतावासले लेबनानको वर्तमान अवस्थामा आफ्ना नागरिकहरूलाई लेबनान भ्रमण गर्ने कुनै पनि योजनाहरूमा कडा रूपमा पुनर्विचार गर्न चेतावनी जारी गरेको छ । अमेरिकी दूतावासले लेबनानमा अहिले सुरक्षा वातावरण जटिल छ, जुन छिट्टै परिवर्तन हुने सम्भावना औल्याउँदै दक्षिणी लेबनान, लेबनान–सिरिया सीमा क्षेत्र र शरणार्थी बस्तीहरू सहित निश्चित क्षेत्रहरूमा यात्रा नगर्न चेतावनी जारी गरेको हो ।

अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । जसका कारण लेबनान र इजरायलबीचको तनाव तीव्र गतिमा बढेको छ । लेबनानको इरान समर्थित लडाकू समूह हिजबुल्लाहले इजरायलमा मिसाइल, मोर्टार र ड्रोन प्रहार गरिरहेको छ ।  

भारत, अमेरिका र युरोपियन देशहरुले आफ्ना नागरिकलाई लेबनानमा सुरक्षित हुन भनिरहेका बेला नेपाली महिला टिमले भने लेबनानको त्रिपोलीमा फोर नेसन्स कप खेल्ने तयारी गरेको थियो । तर, लेबनानको सुरक्षा अवस्थाका कारण नेपाली टिम प्रतियोगिताका लागि नजाने सम्भावना बढेको अखिल नेपाल फुटबल संघ एन्फा स्रोतले जनाएको छ ।

फोर नेसन्समा नेपालसहित, घरेलु टोली लेबनान, बंगलादेश र जोर्डनले खेल्ने तय भएको थियो । तर, लेबनानको सुरक्षा अवस्थाको कारण देखाउँदै बंगलादेशले प्रतियोगिता नखेल्ने बताइसकेको छ । 

यता, नेपाल पनि लेबनानमा खेल्न नजाने पत्राचार गर्ने तयारीमा रहेको एन्फा स्रोतको भनाई छ । आइतबारसम्म लेबनानबाट प्रतियोगिता सार्नका लागि एन्फाले औपचारिक पत्राचार गर्ने छ । यो प्रतियोगितालाई भुटानमा सार्ने र भुटानको महिला टिमलाई पनि समावेश गर्ने गरी तयारी भएको बुझिएको छ ।

यसअघि आयोजक लेबनान फुटबल संघले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी जोर्डन पाएको थियो । यी दुई टोलीबीचको खेल त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते लाई मिति तय गरिसकेको थियो । 

नेपालले दोस्रो खेल बंगलादेशसँग असार २९ गते खेल्ने तालिका सार्वजनिक भए पनि बंगलादेशले प्रतियोगितामा सहभागिता नजाउने जानकारी लेबनान फुटबल संघलाई गराइ सकेको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली लेबनानसँग साउन १ गते खेल्ने तय भएको थियो ।  

उक्त प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २२ सदस्यीय टोलीको घोषणा गरेका छन् । यो टोलीले भुटानमा खेल्ने सम्भावना अत्याधिक छ ।  

नेपाली टोलीः

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey