पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन

  • Image नेप्लेज
  • २० कार्तिक २०८३, शुक्रवार
  • 92 पटक हेरिएको
पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन

काठमाडौं । पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो ।

पोखराको जितमा डेनिम राई, सुवीनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गंगा बहादुर तामाङले थप एक गोल गर्दै पोखराको जित सुनिश्चित गरे ।

उपाधिसँगै पोखराले आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।

विजेता टोलीका मिडफिल्डर गोविन्दबहादुर थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरस्कारस्वरुप उनले एकथान स्कुटर प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ पोखराका योगेन थकाली उत्कृष्ट प्रशिक्षक बने । पोखराबाट व्यक्तिगत विधाको पुरस्कार जित्ने अर्का खेलाडी थिए, सुरेन्द्रबहादुर तामाङ । उनले उत्कृष्ट फरवार्डको पुरस्कार जिते ।

त्यस्तै उत्कृष्ट गोलकिपरमा सानोगौचरण नाइट किंग्स कलबका शम्भु श्रेष्ठ, डिफेन्डरमा आर्मीका चुनबहादुर थापा, मिडफिल्डरमा आर्मीकै राजु तामाङ चुनिए । सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

धरान सिटी एफसीले फेयर प्ले अवार्ड जित्यो । यसैगरी प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा बढी उमेरका खेलाडी डाक्टर कृष्ण भट्टजन पनि सम्मानित भए । थासाङ स्पोर्ट्स क्लबबाट खेलेका भट्टजन ७३ वर्षका छन् ।

समापन समारोहमा विभिन्न अतिथिलाई सम्मान तथा विजेता टोलीलाई पुरस्कार वितरण गरिएको थियो । समारोहमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, स्थानीय वडा ३ का अध्यक्ष कृष्णहरि आचार्य र वडा २ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडीहरु विज्ञानराज शर्मा, उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो ।