एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

-
नेप्लेज
- |
- २०८२-०१-१२
- |
- 1835 पटक हेरिएको
नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। खेलको इन्जुरी समयमा गीता रानाले हेडमार्फत गरेको गोलले एपिएफलाई विजयी बनाएको हो।
आठ टोली सहभागी प्रतियोगितामा एपिएफले उपाधिसहित ५ लाख ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्यो। एपिएफले यसअघि इलाम गोल्डकप र चितवन गोल्डकप जितेको थियो, जसले गर्दा यो एपिएफको लगातार तेस्रो मोफसल उपाधि हो। राष्ट्रिय टोलीका करिब एक दर्जन खेलाडी सहभागी एपिएफ यसअघि महिला लिगको उपाधिसमेत जितिसकेको छ।
प्रतियोगितामा एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० ले र सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो। उता, नेपाल पुलिसले भारतको सिलिगुडी एफसीलाई ४–० ले तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ ले पराजित गरेको थियो।
आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो। विजेता टिम एपिएफकी प्रशिक्षक भगवती थापाले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताउँदै नेपाल पुलिस क्लबबाट कडा चुनौती पाएको स्वीकारिन्। घरेलु मैदानमा खेल्दै नेपाल पुलिसकी कप्तान निरु थापाको उपाधि जित्ने सपना भने अधुरो रह्यो, यद्यपि उनले उपविजेता बन्न पाउँदा खुशी व्यक्त गरिन्।
प्रतियोगिताको आयोजना अन्तरालले गरेको हो भने बाँके जिल्ला फुटबल संघ सह–आयोजक थियो। सहभागी टिमहरूमा बाँके–११, एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, रौतहट जिल्ला र भारतको सिलिगुडी एफसी थिए।