रापिड बुद्धिचालको उपाधि पुरुषोत्तम सिलवाले जिते

  • Image नेप्लेज
  • १८ कार्तिक २०८३, बुधवार
  • 99 पटक हेरिएको
रापिड बुद्धिचालको उपाधि पुरुषोत्तम सिलवाले जिते

काठमाडौं। काठमाडौं स्पोर्ट्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालित केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम सिलवालले जितेका छन्।

उपाधि जित्ने क्रममा फाइनल खेल खेल्दै युवा खेलाडी पुरुषोत्तमले सुरज महर्जनसंग बराबरी गरे भने आठौ चरणको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाललाई पराजित गरे।

युवा उदीयमान खेलाडी पुरुषोत्तमले प्रतियोगितामा ८ अंक सहित उपाधि हात पार्दै नगद रु. ५० हजार सहित ट्रफि लिन सफल भएका छन् । प्रतिस्पर्धामा समान ८ अंक जोडेका रुपेश जैशवाल पुरुषोत्तमसंग ट्राइबेकरको आधारमा पछाडि रहेर दोस्रो स्थानमा रहे । उनले नगद रु. ३० हजार पुरस्कार प्राप्त गरे । रुपेशले नवौं चरणको खेलमा काठमाडौका सिनियर खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएका थिए। 

ललितपुरका सुरज महर्जन ७ दशमलब ५ अंक सहित तेस्रो स्थान ओगटेका छन् । उनले २० हजार नगद पुरस्कार पाए । कुल २ लाख नगद पुरस्कार भएको दुई दिने प्रतियोगिताममा दोलखाका आशिष फुयाल र सन्देश बरुवाल चौथो र पाँचौ स्थानमा रहेका थिए। त्यसैगरि खोटाङका धिरेन राई, सुनसरीका मुहान नर्सिङ केसी, ललितपुरका राजन पुरी, काठमाडौका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अभिक शाह क्रमश छैटौदेखि दशौं स्थानमा रहेका छन्।

त्यसैगरि महिलातर्फको उपाधि मोरङकी शान्ति धिमालले हात पारिन् । स्पर्धामा काठमाडौका राधिका पौडेल दोश्रो तथा कुसुम घिसिङ तेश्रो भईन् ।
महिलातर्फ चौथो देखि दशौ स्थान सम्म प्रज्ञापन्त, सोनालीका श्राफ, काठमाडौकी  नेलिसा ओझा, ललितपुरकी त्रिसारा लामा, काठमाडौकी इसिका श्रेष्ठ, एमसिका श्रेष्ठ र सुहानी सिंहले क्रमशः नगद पुरस्कार पाउन सफल भए।

यस्तै उत्कृष्ट लोकलमा वडा नं १६  भेट्रान खेलाडी जनार्दन श्रेष्ठ, दोस्रोमा मोहम्मद इमरान खान, बेस्ट केएम सिमा  नविन तण्डुकार,  भेट्रानमा बद्रीलाल नेपाली पहिलो भए। त्यसैगरि सविन प्रकाश सैजंले प्रथम स्थानमा रहे। युवा १६ मा सुभमदिप थापा, युवा १४ मा प्रबिर केसी, युवा १२ मा हार्दिक पन्त  र  युवा राजन शाह उत्कृष्ट ठहरिए ।

काठमाडौ स्पोर्ट्स क्लबका अध्यक्ष नारायणदास गमालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि  कामपा वडा नं १६ का अध्यक्ष रोजिना श्रेष्ठ , नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे। एकसय तेईस जना खेलाडीहरु सहभागी रहेको राष्ट्रिय चेस प्रतियोगिताको अर्को संस्करण निरन्तर रहने रोजिना श्रेष्ठले जानकारी गराएका छन्।