सिन्धुलीको फिक्कल गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ योङस्टार युवा क्लब र महिलातर्फ ओखलढुंगाको खम्बसिं फुटबल क्लबले जितेका छन् ।
फिक्कल गाउँपालिकाको आयोजनामा सोल्पाठाना डाँडागाउँ खेलमैदानमा सञ्चालित प्रतियोगिताको पुरुषतर्फको फाइनलमा योङस्टार युवा क्लबले जसेथान युवा क्लबलाई ट्राइब्रेकरमा ३–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै योङस्टारले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता जसेथानले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
त्यस्तै, महिलातर्फको फाइनलमा ओखलढुंगाको खम्बसिं फुटबल क्लबले सिन्धुलीको झरना फुटबल क्लबलाई ट्राइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि जितेको छ । विजेता खम्बसिंले ४० हजार र उपविजेता झरनाले २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ज्वालामुखी युवा क्लबले गोल्डेन रिभर युवा क्लबलाई २–० गोलले पराजित गर्दै ५० हजार रुपैयाँ पुरस्कार जितेको छ । महिलातर्फ समाजसेवा युवा क्लबले तीनखण्डे राईगाउँ युवा क्लबलाई १–० गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । समाजसेवाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३र०८४ को कार्यक्रमअनुसार मङ्सिर ४ गतेदेखि सुरु भएको ९ ए साइड फुटबल प्रतियोगिता मङ्सिर ७ गते सम्पन्न भएको हो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई शिल्ड, मेडल, प्रमाणपत्रसहित जनही १ हजार ५०० रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष राजु बरालले खेलकुदमार्फत समाजमा सद्भाव, सहानुभूति र आपसी सामीप्यता बढाउने उद्देश्य रहेको बताएकन छन् । खेलकै माध्यमबाट फिक्कललाई चिनाउँदै समृद्धिको बाटोमा अघि बढ्न खोजिएको उनको भनाइ छ ।