नेपाल भलिबल संघको स्वर्ण जयन्ती, पहिलो अन्तर्राष्ट्रिय टोलीका खेलाडी सम्मानित

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 67 पटक हेरिएको
नेपाल भलिबल संघको स्वर्ण जयन्ती, पहिलो अन्तर्राष्ट्रिय टोलीका खेलाडी सम्मानित

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल राष्ट्रिय खेलकुद परिषद्मा आधिकारिक रूपमा २०३३ सालमा दर्ता भएको आज ५० वर्ष पूरा भएको अवसरमा नेपाल भलिबल संघ (एनभीए) ले स्वर्ण जयन्ती अर्थात् गोल्डेन जुबली भव्य कार्यक्रम आयोजना गरी मनाएको छ। शनिबार आयोजित कार्यक्रममा नेपाली भलिबलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गरिएको हो।

नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाएको ५० वर्ष पूरा भएको अवसरमा संघले उक्त टोलीका खेलाडीलाई सम्मानपत्र र खादा प्रदान गरेको थियो। ऋषिराज आचार्यको कप्तानीमा नेपाली टोलीले सन् १९७६ मा पाकिस्तानमा आयोजित कायदे आजम भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय भलिबलमा डेब्यु गरेको थियो।

स्वर्ण जयन्ती कार्यक्रममा उक्त टोलीका चार खेलाडी र टोली व्यवस्थापक मधुसमशेर राणा उपस्थित थिए। कार्यक्रममा रेशम गुरुङ, रवीन्द्र श्रेष्ठ, मधुसुदन राना र कपिलकिशोर श्रेष्ठ सहभागी भएका थिए। टोलीका कप्तान ऋषिराज आचार्य र महेन्द्रलाल श्रेष्ठ भने कार्यक्रममा उपस्थित थिएनन्।

कार्यक्रममा टोलीका व्यवस्थापक राणाले पाँच दशकअघि पाकिस्तानमा प्रतियोगिता खेल्दाका अनुभव तथा रोचक क्षणहरू सुनाएका थिए। उनले लामो समयपछि संघले आफूहरूलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गरे। नेपाली भलिबलको अन्तर्राष्ट्रिय यात्राको सुरुवाती चरणमा योगदान पुर्‍याएका खेलाडीलाई गरिएको सम्मानले उनीहरूको योगदानको स्मरण गराएको छ।

यसैगरी, भुटानमा आयोजित सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबल प्रतियोगिताको महिला विधामा नेपालका लागि रजत पदक जित्ने जोडी सुनिता राई र भावना डाँगीलाई पनि सम्मान गरिएको थियो। उक्त जोडीका प्रशिक्षक श्रीराम बोगटी र म्यानेजर जितेन्द्र श्रेष्ठलाई समेत नेपाल भलिबल संघले जनही ४० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेश सिलवाल तथा टंकलाल घिसिङ, वर्तमान सद्यससचिव रामचरित्र मेहता, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेदरल्यान्ड्स भलिबल संघका अध्यक्ष, काभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वलाई कदरपत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो।

नेपाल भलिबल संघको स्वर्ण जयन्तीले नेपाली भलिबलको पाँच दशक लामो यात्रालाई स्मरण गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको छ।