काठमाडौं । यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएको छ। नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन्।
उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन्। त्यसमा ३.५ किलोमिटर पौडी, १ सय २० किलोमिटर साइक्लिङ र ३० किलोमिटर दौड रहेको छ। राईले ४५–४९ वर्ष उमेर समूहमा खेल्नेछन्। कर्माचार्यले भने ५०–५४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टिमको प्रशिक्षक तथा व्यवस्थापकमा युवराज सुनुवार रहेका छन्। राई गिनिज वर्ल्ड रेकर्ड होल्डर खेलाडी हुन्। उनले यसअघि अमेरिकामा भएको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन्। यस्तै कर्माचार्यले छ फुल आइरनम्यान ट्राथलन र २० हाफ आइरनम्यान दौड खेलिसकेका छन्।
दुवै खेलाडीले यसअघि सन् २०२४ र २०२५ को वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप पनि खेलिसकेका छन्। त्यसैले अहिलेको प्रतियोगिता राई र कर्माचार्य दुवैका लागि लगातार तेस्रो सहभागिता रहनेछ।