एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६: नेपाली भेट्रान्स फुटबलमा इतिहास रच्ने लक्ष्य

  • Image नेप्लेज
  • २४ आश्विन २०८३, शनिवार
  • 55 पटक हेरिएको
एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६: नेपाली भेट्रान्स फुटबलमा इतिहास रच्ने लक्ष्य

काठमाडौं। एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी १३ टोलीमध्ये चार टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

नेपाली भेट्रान्स फुटबलकै अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार राशि दाबी गरिएको यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

भेट्रान्स फुटबललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा अनुभवी खेलाडी, प्रतिस्पर्धात्मक टोली र फुटबलप्रेमी दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

क्वार्टरफाइनलका चार खेलबाट सेक्रेट्स एफसी, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जाले सेमिफाइनलमा स्थान बनाएका छन्। सेक्रेट्स एफसीले वी प्लेलाई ४–२ गोलले पराजित गर्‍यो। फ्रिडमफाइटर्सले बागलुङ भेट्रान्समाथि ५–२ को प्रभावशाली जित निकाल्यो।

त्यसैगरी, बीएमजेले प्रतिस्पर्धात्मक खेलमा एन पेनाङलाई ४–२ गोलले हराउँदा पेपे पिज्जाले न्युगेनलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। यी जितसँगै चारै टोलीको उपाधि जित्ने सम्भावना कायम रहेको छ। अब फाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको निर्णायक चरण शनिबार, असोज २४ गते हब स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ। उक्त दिन सेमिफाइनलसँगै फाइनल खेल पनि हुनेछ। फाइनलपछि प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियन टोलीको टुंगो लाग्नेछ। कीर्तिमानी पुरस्कार राशि दाउमा रहेकाले बाँकी टोलीहरू उपाधिसँगै नेपाली भेट्रान्स फुटबलको इतिहासमा आफ्नो नाम लेखाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

प्रतियोगिताको पुरस्कार संरचनाले पनि यसको महत्त्व र आकर्षणलाई थप बढाएको छ। विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले तीन लाख २५ हजार रुपैयाँ पाउनेछ। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) ले ५० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एक्स्ट्रिम र फुडपार्कको प्रस्तुतिमा आयोजना भइरहेको प्रतियोगितालाई पेपे पिज्जा, जेन्ट्स पार्क, इन्फिनिटी, डिर्क एन्ड ब्राउन, केएफसी, बिग टेक र सुपरयुले सहयोग गरेका छन्। गिफ्ट पार्टनरका रूपमा गउरमेट भियना, डीके फुड्स र मिट बेकर रहेका छन्। त्यसैगरी, ह्याम्स मेडिकल पार्टनर, युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर, गोल नेपाल मिडिया पार्टनर, एक्वाफिना हाइड्रेसन पार्टनर, निम्बु पानी बेभरेज पार्टनर र ट्रस्ट गार्ड सुरक्षा पार्टनरका रूपमा रहेका छन्।

प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेसँगै उपाधि भिडन्तप्रतिको उत्सुकता बढेको छ। सेमिफाइनलमा पुगेका चार टोलीबीचको प्रतिस्पर्धाले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ। अनुभव, दृढता र इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रने टोलीमध्ये कसले पहिलो संस्करणको उपाधि जित्ला भन्ने चासो बढेको छ। हब स्पोर्ट्स सेन्टरमा हुने निर्णायक खेलसँगै एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ ले नेपाली भेट्रान्स फुटबलमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।