कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य (अल्पसंख्यक) पदमा देवेन्द्र कुमार शेरचनको उम्मेदवारी दर्ता

  • Image नेप्लेज
  • २० आश्विन २०८३, मङ्गलवार
  • 66 पटक हेरिएको
कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य (अल्पसंख्यक) पदमा देवेन्द्र कुमार शेरचनको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (अल्पसंख्यक) पदमा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि पार्टीको संगठन निर्माण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा नागरिक अधिकारको पक्षमा निरन्तर सक्रिय रहँदै आएका शेरचनले पार्टीलाई वैचारिक, सांगठनिक र जनआधारित रूपमा सुदृढ बनाउने उद्देश्यका साथ उम्मेदवारी दर्ता गराएका हुन्।

 उम्मेदवारी दर्तापश्चात् आफ्ना प्रमुख प्रतिबद्धताहरूसहितको वक्तव्य जारी गर्दै शेरचनले खेलकुद र युवा सहभागितामार्फत लोकतान्त्रिक अभियानलाई अघि बढाएको आफ्नो अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमा उपयोग गर्ने बताएका छन्। उनले पार्टीभित्र लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र सामाजिक न्यायका मूल आदर्शलाई समयानुकूल परिष्कृत गर्दै संगठनलाई अनुशासित र एकताबद्ध बनाउन पहल गर्ने स्पष्ट पारेका छन्।

 शेरचनले अल्पसंख्यक तथा सीमान्तकृत समुदायको सार्थक र अर्थपूर्ण प्रतिनिधित्वलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्। उम्मेदवारी घोषणा पत्रमा उनले प्रतिनिधित्वलाई केवल संख्यामा सीमित नराखी निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता र अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, युवाको ऊर्जा र प्रविधिमैत्री सोचलाई पार्टीको संगठनात्मक शक्तिमा बदल्दै खेलकुदलाई नेतृत्व विकास र राष्ट्र निर्माणको माध्यम बनाउने उनको संकल्प छ।

 त्यसैगरी, पार्टी संगठनमा पारदर्शिता, जवाफदेहिता र जनसम्बन्ध विस्तार गर्दै नेतृत्व र जनताबीचको दूरी घटाउने शेरचनको योजना रहेको छ। अनुभवको सम्मान र नयाँ पुस्ताको ऊर्जाबीच सन्तुलन कायम गर्दै पार्टीभित्र स्वस्थ पुस्तान्तरण र सहकार्यको वातावरण निर्माण गर्न उनले महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत प्रदान गरी विजयी गराउन अपिल गरेका छन्।