टोटनह्यामको पोस्टमा ५ गोल हान्दै लिभरपुलले जित्यो २०औं प्रिमियर लिग उपाधि

  • Image नेप्लेज
  • १४ वैशाख २०८२, आइतवार
  • 3290 पटक हेरिएको
टोटनह्यामको पोस्टमा ५ गोल हान्दै लिभरपुलले जित्यो २०औं प्रिमियर लिग उपाधि

टोटनह्यामलाई ५-१ ले हराउँदै लिभरपुलले २० औं पटक प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्यामले लिएको एक गोलको सुरुवाती अग्रताविरुद्ध पाँच गोल फर्काउँदै लिभपुलले शानदार शैलीमा चार खेल अगावै उपाधि जितेको हो । 

उपाधि जित्नका लागि एक अंक आवस्यकताका साथ घरेलु मैदानमा टोटनह्याविरुद्ध उत्रिएको लिभपुलले सुरुवातमा गोल खाएको थियो । खेलको १२ औं मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । 

तर एन्फिल्ड मैदानमा हजारौं दर्शकका सामू लिभपुलले खेलमा पकड जमायो । गोल खाएको ४ मिनेटपछि लुइस डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए । सुरुमा अफसाइड देखिएको भए पनि भिएआरले  गोल मान्यता दियो। अब लिभरपुललाई यही नतिजामा खेल सकाए उपाधि पक्का हुने थियो । तर पनि लिभपुरलले थप तीन गोल गर्‌यो भने एउटा गोल आत्मघाती उपहार पाएको थियो ।

२४औं मिनेटमा कोडी ग्याप्को र ३४ औं मिनेटमा म्याक एलिस्टर गोल गर्दा लिभरपुलले पहिलो हाफमै ३-१ को अग्रता लिइसकेको थियो भने समर्थक विजय उत्सव मनाउन थालिसकेका थिए ।

तर लिभरपुल यतिमा रोकिएन । ६३औं मिनेटमा सलाहले गोल गरे भने ६९औं मिनेटमा एउटा आत्मघाती गोल हुँदा लिभरपुल च्याम्पियन बन्यो । 

यो जितसँगै लिभरपुलले १९९० यताकै पहिलो पटक आफ्ना समर्थकहरूमाझ प्रिमियर लिग उपाधि मनाउन पाएको हो। सन् २०२० मा कोभिड महामारीका कारण रंगशाला खाली भएको अवस्थामा उनीहरूले उपाधि जितेका थिए।