काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।
प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको छ ।
चितवन राइनोजका बलर रिजन ढकाल प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन् । उनले प्रतियोगिताभर सर्वाधिक १७ विकेट लिएका थिए । चितवन प्लेअफसम्म पुगे पनि फाइनलमा स्थान बनाउन सकेन र तेस्रो स्थानमा रह्यो । सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित रिजनले ओमोडा एन्ड जाएको कार पुरस्कार प्राप्त गरे । त्यस्तै, उनी उत्कृष्ट बलरसमेत घोषित हुँदै पल्सर मोटरसाइकल जित्न सफल भए ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले तीन अर्धशतकसहित कुल २१८ रन बनाउनुका साथै ६ विकेटसमेत लिएका थिए । यसबापत उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिश्राले रेड बुल इनर्जेटिक प्लेयरको अवार्ड जित्दै दुई लाख रुपैयाँ प्राप्त गरे ।
विराटनगर किंग्सका लोकेश बम प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए । उनले प्रतियोगितामा कुल २४२ रन बनाएका थिए । उनले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे ।
यसैगरी, जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जिते । उनले पनि पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।
फाइनलमा सुदूरपश्चिमलाई १० विकेटको शानदार जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्ज मुन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको छ ।