काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्नेछ ।
महिला सिंगल्समा भने शिभाली र स्वस्तिका दुवै पहिलो चरणबाटै बाहिरिएका थिए । शिभाली दक्षिण कोरियाकी दायोन बाकसँग ६–१, ६–० तथा स्वस्तिका जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ को सेटमा पराजित भएकी थिइन् । मिक्स्ड डबल्समा पनि शिभालीले दोस्रो चरणको यात्रा तय गर्न सकिनन् ।
पुरुष सिंगल्सको दोस्रो चरणमा अभिषेक बास्तोलाले आज काजकिस्तानका एलेक्सेन्डर सेभचेन्कोविरुद्ध खेल्नेछन् । अभिषेकले यसअघि प्रदीप खड्कासँगको जोडीमा पुरुष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए ।
एथलेटिक्सतर्फ आज महिला पाँच हजार मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन् ।