काठमाडौं । किर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालकी हाप्किडो खेलाडी बन्दना बस्नेतले रजत पदक जितेकी छन् ।
सेप्टेम्बर २२ देखि २४ सम्म किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजना भएको प्रतियोगितामा बन्दनाले महिला तर्फ ४९–५३ केजी तौल समूहको क्योरुगी विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भइन् । फाइनलमा बन्दना रुसकी खेलाडीसँग पराजित भएपछि रजत पदकमा सीमित भएको नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन् ।
अध्यक्ष मगरले बन्दनाको प्रदर्शन र उपलब्धिप्रति खुसी व्यक्त गर्दै यो सफलता नेपाली हाप्किडोका लागि गौरवको विषय भएको बताए । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता र उपलब्धिले हाप्किडोको विकास तथा प्रवद्र्धनमा थप उत्साह प्रदान गर्ने बताए ।