काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र तेस्रो स्थानबाट चौथो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २५६ नै कायम रहेको छ । नेपाली पुरुष क्रिकेट टोलीले पछिल्लो समय टी–२०आई खेलेको छैन ।
यसैबीच, श्रीलंकासँगको हालै सम्पन्न टी–२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा इंग्ल्यान्डका विल ज्याक्स तेस्रो स्थानमा उक्लिएका छन् । ज्याक्सको उक्लाइसँगै दीपेन्द्र एक स्थान तल झरेका हुन् ।
नेपाली टोलीले अब शुक्रबारदेखि एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । उक्त प्रतियोगितामा खेलाडीहरूले गर्ने प्रदर्शनका आधारमा आगामी वरियतामा फेरबदल हुन सक्नेछ । अलराउन्डरतर्फको वरियतामा जिम्बाबेका सिकन्दर राजा ३२१ रेटिङ अंकसहित शीर्ष स्थानमा यथावत् छन् ।
पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा छन् भने अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन् ।