मोहमद र केनिशलाई स्वर्ण पदक प्राप्त

  • Image नेप्लेज
  • १२ आश्विन २०८३, सोमवार
  • 88 पटक हेरिएको
मोहमद र केनिशलाई स्वर्ण पदक प्राप्त

काठमाडौं । नेपालका मोहमद सामी र केनिश खड्काले चीनको हाइनान प्रान्तस्थित वानिबमा आयोजना भएको हाइनान सिबलोब अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

सामी र केनिशले पुरुष ४५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । यसैगरी सुष्टि विक र सोया चक्रधरले महिला ५९ केजी तथा श्रेयास तिवारीले १५ देखि १७ वर्ष उमेर समूहको एकल पुम्सेमा स्वर्ण पदक हात पारेका थिए ।

यसैगरी सुविन सापकोटाले १२–१४ वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेमा स्वर्ण जित्दा सुभम रायमाझीले १५–१७ वर्ष उमेर समूहको एकल पुम्से र ६८ केजी तौल समूहमा रजत जितेका थिए ।

यस्तै सुजल लो तामाबले १२–१४ वर्षको व्यक्तिगत पुम्सेमा रजत, निर्भिग्न घिमिरेले ग्योरोगीको ५१ केजी र १२–१४ उमेर समूहको एकल पुम्सेमा कांस्य पदक जितेका थिए । प्रिन्स बोगटीले दोहोरो कांस्य जित्ने क्रममा ग्योरोगीको पुरुष २६ केजी र पुम्सेको १०–१२ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी सृष्टि शेरचनले १३–१७ वर्ष उमेर समूहको महिला एकल पुम्सेमा कांस्य पदक जित्न सफल भएकी थिइन् । नेपाली टोलीको प्रशिक्षकमा प्रविण श्रेष्ठ र ओम भण्डारी तथा टोली व्यवस्थापकको भूमिकामा प्रल्हाद थापा सहभागी भएका थिए ।

वानिब नगरपालिका, हाइनान तेक्वान्दो संघ तथा स्थानीय खेलकुद निकायको आयोजनामा सेप्टेम्बर २५ देखि २७ सम्म सिबलोब झोबआओ स्पोट्सर् स्टेडियममा प्रतियोगिता सञ्चालन भएको थियो ।

अन्तर्राष्ट्रिय खेलकुदसँगै साँस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी भएका थिए ।