सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

  • Image नेप्लेज
  • ७ आश्विन २०८३, बुधवार
  • 72 पटक हेरिएको
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

नेपालको अग्रणी टुर अपरेटर तथा डेस्टिनेसन म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको सिलिंक्स होलिडेजले प्रतियोगिताभर सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक, टोलीका पदाधिकारी तथा अधिकारीहरूको सम्पूर्ण यात्रा, यातायात, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन गर्नेछ।

साझेदारीले एनपीएलको आयोजनालाई सहज बनाउन सहयोग गर्नुका साथै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखेको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सिलिंक्स होलिडेजसँगको सहकार्यले टोलीको यात्रा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताए। 'एनपीएल जस्तो ठूलो प्रतियोगितामा टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन निकै महत्वपूर्ण हुन्छ। सिलिंक्स होलिडेजजस्तो अनुभवी कम्पनीसँग आधिकारिक ट्राभल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं । यो साझेदारीले हाम्रो टोलीको व्यवस्थापनलाई थप सहज र व्यावसायिक बनाउनुका साथै खेलकुद र पर्यटनलाई जोड्ने अवसर पनि सिर्जना गर्ने विश्वास लिएका छौं' खड्काले भने ।

सिलिंक्स होलिडेजकी कार्यकारी निर्देशक पवना श्रेष्ठले सुदूरपश्चिम रोयल्ससँगको साझेदारीलाई नेपाली खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउने अवसरका रूपमा लिएको बताइन्। 'सुदूरपश्चिम रोयल्ससँग आधिकारिक ट्राभल पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौं। खेलकुदले नेपाललाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनाउने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको छ। टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापनमा उत्कृष्ट सेवा प्रदान गर्दै एनपीएलको अनुभवलाई थप सहज बनाउनुका साथै नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योगदान गर्ने हाम्रो लक्ष्य छ' श्रेष्ठले भनिन् ।