काठमाडौं । मार्वलस, भ्याली पब्लिक र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्समा र जेबी जुनियर ब्वाइजमा च्याम्पियन बने ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा मार्वलसले न्युटनलाई ७५–४३ ले सहजै पराजित गर्यो । मार्वलसका सिनेप शाहीले २० अंक जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३१–२३ ले हरायो । भ्याली पब्लिककी सोनीमाया तामाङले १४ स्कोर गरिन् ।
जुनियर ब्वाइजको फाइनलमा जेबीले एन्जल्स हार्टलाई २४–२२ ले पाखा लगायो । जेबीका लागि प्रकाश रोकायाले ८ अंक जोडे । सिनियर ब्वाइजमा मार्वलसका नवीन कार्की, सिनियर गल्र्समा भ्याली पब्लिककी सोनीमाया तामाङ र जुनियर ब्वाइजमा जेबीका भीम रोकाया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा मार्वलसका सिनेप शाही, सिनियर गल्र्समा फेरिल्यान्डकी सन्दिपा राई र जुनियर ब्वाइजमा जेबीका आरभ राणा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
सिनियर ब्वाइजमा न्युटनका युनिक कार्की, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्य गुरुङ र जुनियर ब्वाइजमा जेबीका सौरव श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई काठमाडौं जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख सुरेशकुमार जोशी, तार्केश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकी, केन्द्रीय प्याब्सनका उपाध्यक्ष एवं आयोजक ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २५, सिनियर गल्र्स १६ र जुनियर ब्वाइजमा १८ टिम सहभागी थिए ।