उच्च पदमा पुगेका पाँच व्यक्तित्व दावाँली मिलन क्लबद्वारा सम्मानित

  • Image नेप्लेज
  • ३ आश्विन २०८३, शनिवार
  • 190 पटक हेरिएको
उच्च पदमा पुगेका पाँच व्यक्तित्व दावाँली मिलन क्लबद्वारा सम्मानित

काठमाडौं । दावाँली मिलन क्लबले सामाजिक एकता, आपसी भाइचारा र समुदायप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै भोजपुरमा जन्मिएर राष्ट्रका विभिन्न उच्च ओहदामा पुगेका पाँच व्यक्तित्वलाई सम्मान गरेको छ।

क्लबले आज आयोजित एक विशेष कार्यक्रममा नेपाल सरकारको मुख्य सचिव पदमा पदोन्नति भएका गोविन्दबहादुर कार्की, सचिव पदमा पदोन्नति भएका उत्तरकुमार खत्री, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ईश्वर कार्की, कर्मचारी सञ्चय कोषको कार्यकारी प्रमुखमा नियुक्त विजयकुमार श्रेष्ठ तथा स्वतन्त्र ऊर्जा उत्पादक संघको उपाध्यक्षमा निर्वाचित विक्रम विष्टलाई सम्मान गरेको हो।

उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व  अर्थमन्त्री शंकरप्रसाद कोइराला र दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो। राष्ट्रका विभिन्न क्षेत्रमा महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल भोजपुरका व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबले जनाएको छ। क्लबले समुदायबाट विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तित्वलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई पनि राष्ट्रसेवाप्रति प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको हो।

सम्मानित व्यक्तित्वहरूले क्लबको सम्मानले आफूहरूलाई आगामी दिनमा राष्ट्र र जनताको सेवामा अझ जिम्मेवार भएर काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताएका छन्। सम्मानसँगै आफ्नो जिम्मेवारी र उत्तरदायित्वसमेत थपिएको उनीहरूको भनाइ थियो। दावाँली मिलन क्लब स्थापना कालदेखि नै सामाजिक एकता, आपसी भाइचारा र समुदायको हितलाई केन्द्रमा राखेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको छ। भोजपुरको दावाँ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने उद्देश्यले स्थापना भएको क्लबले सामाजिक सेवा, स्वास्थ्य, खेलकुद तथा समुदाय विकासका क्षेत्रमा आफ्नो गतिविधि विस्तार गर्दै आएको छ। साथै खेलकुद् क्षेत्रमा पनि उतिकै सक्रिय भुमिका निभाउदै अएको छ। क्लवले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको आयोजना संगै क्लव स्तरिय प्रतियोताहरुमा समेत आफ्नो सहभागिता जनाउदै आएको छ। 

क्लबले भोजपुरलगायत विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामाजिक सेवाका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। विशेषगरी भलिबल खेलको विकास र स्थानीय प्रतिभाको पहिचानमा समेत क्लबले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। स्थानीयस्तरमा भलिबल प्रतियोगिता आयोजना तथा सहभागिताबाट अघि बढेको क्लब पछिल्लो समय राष्ट्रियस्तरका क्लबस्तरीय भलिबल प्रतियोगितामा समेत सहभागी हुँदै आएको छ। यससँगै सामाजिक सेवाबाट खेलकुदको राष्ट्रिय मञ्चसम्म क्लबको गतिविधि विस्तार हुँदै गएको छ।

सामाजिक उत्तरदायित्व, समुदायबीचको एकता र समाज तथा राष्ट्रका लागि योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानलाई निरन्तरता दिँदै जाने क्लबले जनाएको छ। दावाँली मिलन क्लबको यस्तो पहलले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मान गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक सेवा र राष्ट्र निर्माणमा योगदान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।