प्रिमियर लिगको रोमाञ्चक समापन, च्याम्पियन्स लिग खेल्ने टोली यी हुन्

  • Image नेप्लेज
  • ११ जेठ २०८२, आइतवार
  • 4834 पटक हेरिएको
प्रिमियर लिगको रोमाञ्चक समापन, च्याम्पियन्स लिग खेल्ने टोली यी हुन्

काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२४/२५ को अन्तिम दिनका रोमाञ्चक नतिजासँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन्।

आइतबार राति सम्पन्न निर्णायक खेलहरूमा तीनै टिम विजयी बन्दै शीर्ष पाँचमा रहन सफल भए। उपाधि विजेता लिभरपुल भने बराबरीमा रोकियो ।

म्यानचेस्टर सिटीले फुलहमलाई उसैको मैदानमा २–० ले हरायो। सिटीका लागि इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोल गर्दै टोलीलाई जित दिलाए।

सिटीले ३८ खेलमा ७१ अंक जोड्दै लिगको तेस्रो स्थानमा सिजन समाप्त गर्‍यो। पराजित फुलहम ५४ अंकसहित ११औँ स्थानमा सीमित बन्यो।

त्यस्तै, चेल्सीले नटिङ्घम फरेस्टमाथि १–० को संकटकालीन जित निकालेको थियो। लेवी कोलविलको गोल निर्णायक बन्यो।

यस जितसँगै चेल्सी ६९ अंकसहित चौथो स्थानमा रह्यो। नटिङ्घम भने ६५ अंक जोड्दै सातौँ स्थानमा सिमित रह्यो र च्याम्पियन्स लिग खेल्ने आशा समाप्त भयो।

न्युक्यासल युनाइटेडले एभर्टनविरुद्ध १–० को जित हात पार्‍यो। कार्लोस अल्कारेजले गोल गर्दै न्युक्यासललाई महत्त्वपूर्ण तीन अंक दिलाए।

६६ अंकसहित न्युक्यासल पाँचौँ स्थानमा रह्यो भने एभर्टन ४८ अंकसहित १३औँ स्थानमा टुंगियो।

यस सिजनको प्रिमियर लिगबाट च्याम्पियन्स लिग खेल्ने टोलीहरूमा आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल रहेका छन्।

युरोपा लिग विजेता टोटनहमले समेत स्थान सुरक्षित गरेपछि प्रिमियर लिगबाट कुल ६ टोली च्याम्पियन्स लिगमा सहभागी हुने पक्का भएको छ।