पहिलो एनपीएल जितेपछि ट्रफी लिएर सुदूरपश्चिम जाँदै रोयल्स

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 95 पटक हेरिएको
पहिलो एनपीएल जितेपछि ट्रफी लिएर सुदूरपश्चिम जाँदै रोयल्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले च्याम्पियन ट्रफीसहित आफ्नै प्रदेशमा भव्य ‘ट्रफी टुर’ गर्ने भएको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा उपाधि चुमेपछि टोलीले उक्त ट्रफी सुदूरपश्चिमका विभिन्न सहरहरूमा समर्थकमाझ पुर्‍याउने तयारी थालेको हो ।

अघिल्ला दुई संस्करणमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा सानदार प्रदर्शन गर्दै पहिलोपटक एनपीएलको उपाधि हात पारेको हो ।

उपाधि जितेर इतिहास रचेपछि टोलीले ट्रफीसहितको तस्बिर सार्वजनिक गर्दै स्थानीय डोटेली लवजमा सुदूरपश्चिमवासीलाई खुसीयाली मनाउन र ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

 

टोलीले सामाजिक सञ्जालमा लेखेको छ– ‘काठमाडौमि सुदुरकी गुंज गज्जब सुणियो! आब ट्रफी सुदुर औन्नछ, सुदुरकी गुंज बिश्व ले सुण्या छ। एकफेर आजि धेखाइदिनु पुइ सुदुर-शक्ति!!! सुदूरपश्चिम गेट रेडी दिस ईज गोइङ टू बी बिग !'काठमाडौमा सुदूरको गूँज गज्जब सुनियो! अब ट्रफी सुदूर आउँदैछ, सुदूरको आवाज विश्वले सुनेको छ। फेरि एकपटक सुदूर-शक्ति देखाइदिनुपर्‍यो! सुदूरपश्चिम तयार रहू, अब ठूलो उत्सव हुँदैछ!

रोयल्स व्यवस्थापनका अनुसार च्याम्पियन ट्रफीलाई कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका मुख्य सहरहरूमा बाजागाजा र र्‍यालीसहित प्रदर्शन गरिनेछ।

ट्रफी टुरमार्फत टोलीलाई निःस्वार्थ साथ दिँदै आएका स्थानीय समर्थकहरूसँग ऐतिहासिक जितको उत्सव मनाइने बताइएको छ।

सुदूरपश्चिमको पहिचान र क्रिकेट क्रेजलाई विश्व मञ्चमै पुर्‍याएको भन्दै रोयल्सको यस आह्वानपछि स्थानीय क्रिकेटप्रेमीहरू ट्रफीलाई भव्य स्वागत गर्न उत्साहित बनेका छन्। ट्रफी टुरको औपचारिक तालिका र रुट भने सार्वजनिक भएको छैन ।


#क्रिकेट #सुदूरपश्चिम प्रदेश #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment