काठमाडौं । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् ।
त्यस्तै, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ खेलाडीले अक्सनमा सहभागी हुन नाम लेखाएका छन् । अमेरिकाका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १० र नेपालका १० खेलाडीले पनि नाम दर्ता गराएका छन् । यसपटक जापानका दुई खेलाडीले समेत अक्सनमा सहभागी हुन इच्छा देखाएका छन् ।
बीसीसीआईका अनुसार अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले १८४ खेलाडीलाई रिटेन तथा अनुबन्ध गरिसकेका छन् । अब अक्सनबाट बढीमा ६६ खेलाडी छनोट गर्न सकिनेछ । उपलब्ध स्थानमध्ये २५ जना विदेशी खेलाडीका लागि छुट्याइएको छ ।
अक्सनका लागि नाम दर्ता गराउनेमध्ये १८४ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडी छन् भने ९९४ जनाले अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । त्यस्तै, ४२ जना एसोसिएट राष्ट्रका खेलाडी रहेका छन् ।
अन्तर्राष्ट्रिय खेलको अनुभव नभएका ९९४ खेलाडीमध्ये ९२५ जना भारतीय छन् । तीमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् ।
अब फ्रेन्चाइज टोलीहरूले दर्ता भएका खेलाडीमध्ये आफूले अक्सनको अन्तिम सूचीमा समावेश गर्न चाहेका खेलाडीको नाम बीसीसीआईलाई बुझाउनेछन् । अन्तिम अक्सन सूची र खेलाडीको समूह आगामी डिसेम्बर ४ मा सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।
यसअघि सबै टोलीले आगामी सिजनका लागि खेलाडी रिटेन गर्ने सूची सार्वजनिक गरिसकेका छन् । त्यसक्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र ट्राभिस हेडलाई उनीहरूका सम्बन्धित टोलीले रिलिज गर्नु चर्चाको विषय बनेको थियो ।
दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई रिलिज गरेको हो । क्रिकेट अस्ट्रेलियाको कार्यभार व्यवस्थापन योजनाका कारण उनले आईपीएल २०२६ को पहिलो आधाका खेल गुमाएका थिए । दिल्लीले उनलाई ११ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
आगामी सिजनमा उनको उपलब्धताबारे अनिश्चितता देखिएपछि दिल्लीले स्टार्कलाई रिलिज गर्ने निर्णय गरेको हो ।