१०औं राष्ट्रिय खेलकुद : हेलिसाको उत्कृष्ट अर्धशतकसँगै बागमतीले सुदूरपश्चिम प्रदेशलाई हरायो

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 48 पटक हेरिएको
१०औं राष्ट्रिय खेलकुद : हेलिसाको उत्कृष्ट अर्धशतकसँगै बागमतीले सुदूरपश्चिम प्रदेशलाई हरायो

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले विजयी शुरूआत गरेको छ ।

बागमती प्रदेशले बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले हराएको हो । जारी प्रतियोगितामा यी दुवै टोलीको यो पहिलो खेल हो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १८ ओभरमा केवल तीन विकेट गुमाएर एक सय १४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

बागमती प्रदेशको जितमा ओपनर हेलिसा गुरुङले अर्धशतकीय पाली खेलिन् । उनले केवल ५१ बलको सामना गरी ६ चौकाको मद्दतले अविजित ५५ रन बनाइन् । अर्की ओपनर कञ्चन श्रेष्ठले पनि १९ बलमा एक चौकाको मद्दतले १३ रन जोडिन् । विकेटकिपर ब्याटर बिपिसा शाहीले १४ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी लक्ष्मीमायाँ लामाले केवल १५ बलमा एक छक्का र दुई चौकाको मद्दतले २० रन जोडिन् । सबिकाकुमारी यादब तीन रनमा अविजित रहिन् ।

सुदूरपश्चिम प्रदेशकी बलर अनु कडायत र स्नेहा मिश्राले एक–एक विकेट लिए । बागमती प्रदेशले अतिरिक्त रूपमा १३ रन पायो । त्यसअघि, सुदूरपश्चिम प्रदेशका लागि ओपनर मनिषा बोहराले ३० रन बनाएकी थिइन् । दूर्भाग्यपूर्ण तरिकाले रन आउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा एक चौका प्रहार गरिन् । माथिल्लो क्रमका अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर ममता बोहरा दुई, रविना बोहरा एक, सविना नेगी शूय र याषु पाण्डे एक रनमै पेभेलियन फर्किए । छैटौं नम्बरमा क्रिज समाल्न आएकी स्नेहा महराले २२ रन बनाइन् । उनले ३९ बलको सामना गरी एक चौका हिर्काइन् । अनु कडायतले टोलीको खातामा अविजित २३ रन थपिन् । उनले १५ बलमा एक छक्का र एक चौका प्रहार गरिन् ।

सुदूरपश्चिमका लागि छक्का प्रहार गर्ने उनी एकमात्र खेलाडी हुन् । रितु कनौजिया १४ बलमा दुई चौकाको मद्दतले १५ रनमा अविजित रहिन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा पनि १७ रन पायो । बागमतीकी बलर अस्मिना कर्माचार्यले तीन विकेट लिइन् । उनले चार ओभरमा २२ रन खर्चिइन् । संस्कृति फुयाल र लक्ष्मीमायाँ लामाले पनि एक–एक विकेट हात पारे ।

बागमती आफ्नो पहिलो खेलबाटै दुई अंक जोड्दै समूह ‘सी’ तालिकाको पहिलो स्थानमा छ ।पहिलो खेलमै पराजित भएको सुदूरपश्चिम दोस्रो स्थानमा छ । गण्डकी प्रदेश पनि यही समूहमा छ । महिला क्रिकेटमा बुधबारको दोस्रो खेल कोशी प्रदेश र कर्णाली प्रदेशबीच हुनेछ । कोशी र कर्णाली प्रदेशसँगै त्रिभुवन आर्मी क्लब समूह ‘ए’मा छन् ।

यो समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराएको थियो । आर्मी क्लब दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment