काठमाडौं । काभा क्लब च्याम्पियनसिपमा सहभागी हुन अस्वीकार गरेको भन्दै नेपाल भलिबल संघले पीएम कप एनभीए लिग विजेता रुकुम पश्चिम भलिबल क्लबलाई कारबाही गरेको छ। संघले कारबाहीस्वरूप पोखरामा जारी किङ्स कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा रुकुम पश्चिमलाई सहभागी हुन रोक लगाएको हो ।
नेपाल भलिबल संघका अनुसार अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी), एसियाली भलिबल महासंघ (एभीसी) तथा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को प्रतियोगितासम्बन्धी नियमअनुसार राष्ट्रिय स्तरको आधिकारिक क्लब लिग विजेता टोलीले काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एनभीए लिग विजेता रुकुम पश्चिमले भारतमा आयोजित काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नुपर्ने थियो ।
तर, आन्तरिक कारण देखाउँदै रुकुम पश्चिमले नेपाल भलिबल संघलाई औपचारिक जानकारीसमेत नगराई प्रतियोगितामा सहभागी नहुने निर्णय गर्यो । यदि क्लब प्रतियोगितामा सहभागी हुन नसक्ने अवस्था थियो भने कम्तीमा दुई महिनाअघि नै संघलाई लिखित जानकारी गराउनुपर्ने थियो । त्यसो भएको भए उपविजेता हेल्प नेपालले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउन सक्थ्यो।
रुकुम पश्चिमले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि काभाले नेपाल भलिबल संघलाई पत्राचार गर्दै १० हजार अमेरिकी डलर जरिवाना तिर्न निर्देशन दिएको संघले जनाएको छ । उक्त रकम रुकुम पश्चिमले नतिरे नेपाल भलिबल संघले नै व्यहोर्नुपर्ने अवस्था रहेको छ ।
नेपाल भलिबल संघका अनुसार रुकुम पश्चिमले जरिवानाबापतको रकम मंसिर २२ गतेसम्म बुझाउने प्रतिबद्धतासहित संघलाई चेक उपलब्ध गराएको छ । यही घटनालाई आधार बनाएर संघले कारबाहीस्वरूप मंसिर ८ गतेदेखि पोखरामा सुरु भएको किङ्स कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा रुकुम पश्चिमलाई सहभागी हुन रोक लगाएको हो ।
यता, रुकुम पश्चिम क्लबका पदाधिकारीले भने आर्थिक अभावका कारण काभा क्लब च्याम्पियनसिपमा सहभागी हुन नसकेको बताएका छन् । प्रायः प्रायोजकको सहयोगमा सञ्चालन हुँदै आएको क्लबलाई यसपटक पनि सुरुमा प्रायोजकहरूले सहयोग गर्ने आश्वासन दिएका थिए। तर, प्रतियोगिताको अन्तिम समयमा सहयोग जुट्न नसकेपछि बाध्य भएर प्रतियोगिताबाट बाहिरिनुपरेको क्लबका अध्यक्ष तेज बुढाले नेप्लेजलाई जानकारी दिए ।
काभा क्लब च्याम्पियनसिपमा तीन जना विदेशी खेलाडीसहित नेपाली खेलाडी समेटेर प्रतिस्पर्धात्मक टोली निर्माण गर्नुपर्ने भएकाले खर्च निकै बढी हुने अध्यक्ष बुढाको भनाइ छ। त्यसमाथि यसपटक प्रतियोगिता भारतमा आयोजना भएकाले खेलाडी तथा अफिसियलको खानपान, आवास र यातायात खर्चसमेत क्लबले नै व्यहोर्नुपर्ने अवस्था थियो । यसका लागि करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
प्रायोजकबाट अपेक्षित सहयोग नजुटेपछि यति ठूलो रकम व्यवस्थापन गर्न नसक्दा प्रतियोगितामा सहभागी हुन नसकेको अध्यक्ष बुढाले स्पष्ट पारे । क्लबले अन्तिम समयसम्म पनि प्रायोजकबाट सहयोग आउने आशा राखेको थियो । तर, समयमै आर्थिक स्रोत सुनिश्चित गर्न नसक्नु र नेपाल भलिबल संघलाई प्रतियोगितामा सहभागी हुन नसक्नेबारे अग्रिम जानकारी नगराउनु आफ्नो कमजोरी भएको उनले स्वीकार गरे ।
अध्यक्ष बुढाका अनुसार काभाले नेपाल भलिबल संघलाई तोकेको १० हजार अमेरिकी डलर अर्थात् करिब १५ लाख ७ हजार रुपैयाँ जरिवाना क्लबले नै व्यहोर्ने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार मंसिर २२ गतेसम्म रकम बुझाउने मिति राखेर संघलाई चेक उपलब्ध गराइएको उनले बताए ।
तर, जरिवाना तिर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा पनि पोखरामा आयोजित किङ्स कपमा सहभागी हुन नपाउँदा दुःख लागेको अध्यक्ष बुढाको भनाइ छ । जरिवाना रकम बुझाइसकेपछि पनि नेपाल भलिबल संघले क्लबलाई थप कारबाही गर्दै भविष्यमा कालोसूचीमा राख्ने हो कि भन्ने चिन्ता रहेको उनले बताए ।
क्लबले आफ्नो कमजोरी स्वीकार गर्दै जरिवाना तिर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा थप प्रतिबन्ध वा कारबाही नगर्न नेपाल भलिबल संघसँग आग्रहसमेत गरेको छ ।