काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ।
आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन्। प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।
आज हुने दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ ।