दीपेश र अमिरले विश्व पारा तेक्वान्दो खेल्ने

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 93 पटक हेरिएको
दीपेश र अमिरले विश्व पारा तेक्वान्दो खेल्ने

काठमाडौं । दक्षिण कोरियामा आयोजना हुने ११औं विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा दक्षिण कोरियाको मुजुमा नोभेम्बर २० देखि २२ सम्म प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालबाट दीपेश महत र अमिर भ्लोनले प्रतिस्पर्धा गर्नेछन्। संघका महासचिव एवं टोली व्यवस्थापक हेमन्त डाँगीका अनुसार दीपेशले नोभेम्बर २० मा के–४१ अन्तर्गत पुरुष ५८ केजीमुनि तथा अमिरले नोभेम्बर २१ मा के–४४ अन्तर्गत पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।

विश्व तेक्वान्दोको जी–१४ वरियतामा मान्यता प्राप्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण महासंघको आधिकारिक युट्युब च्यानलबाट हुने बताइएको छ।

प्रशिक्षक कविराज नेगी लामाले सन् २०२८ मा संयुक्त राज्य अमेरिकामा आयोजना हुने पाराओलम्पिक खेलकुदको तयारीका लागि प्रतियोगिता महत्वपूर्ण अनुभव बन्ने विश्वास व्यक्त गरे।

तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा संघको सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशमशेर राणाले खेलाडीसहितको टोलीलाई शुभकामनासहित बिदाइ गरे।

बिदाइ कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले खेलाडीलाई उत्कृष्ट प्रदर्शन र नतिजाका लागि शुभकामना दिए। कार्यक्रममा संघका केन्द्रीय तथा काठमाडौं जिल्ला पदाधिकारी र तेक्वान्दो प्रशिक्षकहरूको उपस्थिति थियो।