काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडाैं गाेर्खाजले तेस्रो जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ३६ रले हराउँदै काठमाडाैं गोर्खाजले लगातार तेस्रो जित निकालेको हो ।
काठमाडाैं गोर्खाजले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.३ ओभरमा अलआउट हुँदै १२४ रनमै समेटियो ।
लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन जोडे । ४५ बल खेलेका जोराले ३ चौका प्रहार गरे । यस्तै, अविशेष गौतम १६ रन जोडे । १६ बल खेलेका गौतमले १ चौका प्रहार गरे । यस्तै, निरोसन डिकवालाले १४ रनको योगदान दिए । ७ बल खेलेका डिकवालाले ३ चौका प्रहार गरे । रुवेन ट्रम्पलम्यानले ११ रन जोडे । १६ बल खेलेका ट्रम्पलम्यानले १ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेल र दिलिप नाथ खाता नै नखोलेर पभिलियन फर्किए । ओपनरद्वय डार्सी सट ४ र आसिफ शेख १ रनमा पभिलियन फर्किएका थिए ।
काठमाडाैं गोर्खाजका लागि जहानदाद खानले सर्वाधिक ४ विकेट लिए । करण केसीले २ तथा साहब आलम, सन्तोष यादव र रासिद खानले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडाैं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो ।