काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको नवौं खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो।
जनकपुर बोल्ट्सका लागि ओपनर ब्याटर तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि अर्का ओपनर मोइन अलिसँग ४७ रनको साझेदारी बनाएका थिए।
मोइन अलिले २१ रन बनाए। पावरप्लेमा बिना कुनै विकेटको क्षती ४५ रन बनाएको थियो। त्यसपछि भने जनकपुरले सोचेअनुरुप खेल्न सकेन। जनकपुरको मध्यक्रममा सुस्तायो।
सैफ हसन र हर्मित सिंह क्रमशः १ र ९ रन बनाएर पेभेलियन फर्किए। अनिल कुमार शाहले ९ रन बनाउँदा जिमी निशम ११ रनमा क्याच भए। जनकपुरका युवा ब्याटर अभिषेक तिवारीले आक्रमक ब्याटिङ प्रदर्शन गरे। उनले १० बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे। अमर सिंह रौतेला २ रनमा बोल्ड भए।
पोखरा एभेन्जर्सका लागि शकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। चमिका करुणारत्नेले २ विकेट लिए। मेहेदी हसन र मोहम्मद सैफउद्धिनले १-१ विकेट लिए। पोखराको यो दोस्रो खेल हो।
पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। जनकपुर बोल्ट्सको भने यो तेस्रो खेल हो।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा भने जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध ८ विकेटको जित दर्ता गरेको थियो।