दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

  • Image नेप्लेज
  • १५ कार्तिक २०८३, आइतवार
  • 62 पटक हेरिएको
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँग सुर्खेतमा छलफल गरेका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो ।

सुर्खेतमा भएको छलफलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लबीच प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न संघीय र प्रदेश सरकारबीच हुनुपर्ने समन्वय, पूर्वाधारहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

छलफलका क्रममा मन्त्री पोखरेलले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा संघीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेको जानकारी गराउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री पोखरेल दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निरीक्षण तथा सरोकारवालाहरूसँगको समन्वयका लागि हाल सुर्खेत भ्रमणमा छन् ।