काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै चितवन राइनोजले विजयी सुरुवात गरेको हो ।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १९.३ ओभरमा १४९ रनमै अलआउट भयो । विराटनगर किंग्सका लागि इमरान शेखले सर्वाधिक ३९ रनको योगदान दिए । शेखले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, आन्द्रे रसेलले ३३ र ओपनर लोकेश बमले २६ रन जोडे । १७ बल खेलेका रसेलले १ चौका र ४ छक्का प्रहार गरे । एन्गेलो म्याथिउसले १४ र बसिर अहमदले १३ रनको योगदान दिए । चितवन राइनोजका लागि कमलसिंह ऐरीले ४ विकेट लिए ।
यस्तै, रिजन ढकालले २ तथा रन्जित कुमार, टम टेलर, मौसम ढकाल र डान माउस्लेले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले ओपनर डेविड मलानको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ७० रन जोडे । ५० बल खेलेका मलानले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, कप्तान रवि बोपारा ३२ र डान माउस्ले २९ रनमा अविजित रहे । २६ बल खेलेका बोपाराले २ छक्का र १ चौका प्रहार गरे । माउस्लेले २२ बलमा २ चौका प्रहार गरे । ओपनर देव खनालले १२ रन जोडे । देवले १५ बलमा १ चौका प्रहार गरे ।
विराटनगर किंग्सका लागि आन्द्रे रसेल, चरिथ असलंका र एन्जेलो म्याथिउसले समान १-१ विकेट लिएका थिए ।