एनपीएलको तयारीमा दसैँको पनि पर्वाह छैन, दर्शक सुविधालाई विशेष प्राथमिकता

  • Image नेप्लेज
  • ४ कार्तिक २०८३, बुधवार
  • 100 पटक हेरिएको
एनपीएलको तयारीमा दसैँको पनि पर्वाह छैन, दर्शक सुविधालाई विशेष प्राथमिकता

काठमाडौं । दसैँको रमझमले देशभर उत्सवको माहोल छाएको छ। कोही परिवारसँग दसैँ मनाउन व्यस्त छन् त कोही आफन्तसँगको भेटघाट र रमाइलोमा। तर, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने दसैँको चहलपहलभन्दा फरक दृश्य देखिन्छ। यहाँ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई भव्य र व्यवस्थित बनाउने तयारीले तीव्रता पाएको छ।

कार्तिक ९ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको उद्घाटन हुन अब एक साता मात्रै बाँकी छ। प्रतियोगिताको मिति नजिकिँदै गर्दा मैदानमा कामदारहरू निर्माण र व्यवस्थापनका काममा व्यस्त छन् भने नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू भइरहेका कामको निरीक्षण र आवश्यक तयारीमा जुटिरहेका छन्।

हामी अष्टमीको दिन मैदान पुग्दा पनि त्यहाँ कामको चटारो उस्तै थियो। कतै संरचना निर्माण भइरहेको थियो, कतै कोठाहरू व्यवस्थित गरिँदै थिए त कतै दर्शक र पाहुनाको सुविधाका लागि आवश्यक पूर्वाधार तयार पारिँदै थियो।

दसैँको बिदा र पारिवारिक जमघटको समयमा समेत मैदानमै खटिएका क्यानका पदाधिकारीहरूको भनाइ छ, दसैँ अर्को वर्ष पनि आउँछ, तर राष्ट्रसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन अहिलेको समय अत्यन्त महत्त्वपूर्ण छ। त्यसैले प्रतियोगिता सुरु हुनुअघि सबै तयारी पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ।

यसपटकको तयारी खेलाडी, टिमका पदाधिकारी र विशिष्ट पाहुनाको सुविधामा मात्रै सीमित छैन। मैदानमा आउने आम दर्शकले पनि सहज र व्यवस्थित वातावरणमा खेल हेर्न पाऊन् भन्ने उद्देश्यले पूर्वाधार र सुविधामा विशेष ध्यान दिइएको छ। आखिर, यसपटक त्रिवि क्रिकेट मैदानमा के–के परिवर्तन हुँदैछन्? दर्शकले कस्ता नयाँ सुविधा पाउनेछन्? आउनुहोस्, एनपीएलको तयारीको स्थलगत दृश्य हेरौँ। 


#एनपीएल