पलेशाको एसियाली पारा खेलकुद यात्रा कांस्य भिडन्तमै टुंगियो

  • Image नेप्लेज
  • ४ कार्तिक २०८३, बुधवार
  • 62 पटक हेरिएको
पलेशाको एसियाली पारा खेलकुद यात्रा कांस्य भिडन्तमै टुंगियो

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानको आइची–नागोयामा जारी पाँचौं एसियाली पारा खेलकुदमा पदकविहीन बनेकी छन्।

सन् २०२३ मा चीनको हाङचाउमा भएको प्रतियोगितामा कांस्य पदक जितेकी पलेशाले यसपटक पदकको रङ परिवर्तन गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन्।

महिला के-४४ अन्तर्गत ५७ केजीमुनिको तौल समूहमा सहभागी पलेशाको चुनौती दुई इरानी खेलाडीसँगको प्रतिस्पर्धामा समाप्त भयो । यस विधामा आठ खेलाडी मात्रै रहेकाले उनले सिधै क्वार्टरफाइनलबाट खेल्न सुरु गरेकी थिइन्।

पहिलो चरणमा पलेशाले इरानकी १७ वर्षीया जाहरा रहिमीसँग प्रतिस्पर्धा गरिन् । तर, पेरिस पारालिम्पिकमा रजत पदक जितेकी तथा यस प्रतियोगितामा तेस्रो वरीयतामा रहेकी रहिमीले १२-१ अंकको जित निकाल्दै पलेशालाई पराजित गरिन्।

रहिमीले सन् २०२४ को पारालिम्पिकमा ५२ केजीमुनिको तौल समूहबाट रजत जितेकी थिइन् भने पलेशा ५७ केजीमुनिको समूहमा खेलेकी थिइन्। क्वार्टरफाइनलको हारपछि पनि पलेशाका लागि पदक जित्ने सम्भावना बाँकी थियो।

रिपिचेजको अवसर सदुपयोग गर्दै उनले कजाकस्तानकी कामिल्या दोस्मालोभालाई १४–१० अंकले हराइन्। यो जितसँगै पलेशाले हाङचाउ एसियाली खेलकुदको सेमिफाइनलमा कामिल्यासँग बेहोरेको हारको हिसाबसमेत बराबर गरिन्।

चीनमा रजत पदक जितेकी ३४ वर्षीया कामिल्यामाथिको सफलताले पलेशालाई कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्‍याएको थियो। तर, अन्तिम भिडन्तमा पलेशाले चौथो वरीयताकी १९ वर्षीया इरानी खेलाडी मरियम अब्दुल्लापोर डेरोईसँग सामना गर्नुपर्‍यो।

खेलको पहिलो राउन्डमा ४–० ले पछि परेकी पलेशाले दोस्रो राउन्डमा पनि अपेक्षित प्रदर्शन गर्न सकिनन् । दोस्रो राउन्डमा १४–६ ले पछि परेसँगै उनी समग्रमा १८–६ अंकले पराजित भइन्। एकै दिन इरानका दुई फरक खेलाडीसँग हार बेहोरेपछि पलेशाको पदक जित्ने अभियान टुंगिएको हो।

हाङचाउमा कांस्य जितेर अन्तर्राष्ट्रिय सफलता हासिल गरेकी पलेशाले यसपटक भने आइची–नागोयामा पदक थप्न सकिनन्। रिपिचेजमा पुनरागमन गर्दै कांस्य भिडन्तसम्म पुगे पनि अन्तिम खेलमा हार बेहोर्दा उनको ठूलो पदक जित्ने लक्ष्य अधुरै रह्यो।