काठमाडौँ । काठमाडौँमा परम्परागत व्यापार-व्यवसायको बाहुल्य रहेको मारवाडी समुदायभित्र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यका साथ अग्रवाल युवा मञ्चले तेस्रो संस्करणको ‘एवाईएम खेल महोत्सव’ आयोजना गरेको छ । व्यापारिक घरानाका रूपमा चिनिएको समुदायका युवाहरूलाई व्यापारको धपेडीबाट बाहिर निकालेर खेलकुदका माध्यमबाट शारीरिक तथा मानसिक रूपमा सबल बनाउने र भोलिका दिनमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ यो प्रतियोगिता सञ्चालन गरिएको हो ।
कुल ६ वटा विधा (इन्डोर क्रिकेट, फुटसल, ब्याडमिन्टन, टेबल टेनिस, स्विमिङ र पुल) समावेश गरिएको तीन दिने महोत्सवमा ५ वर्षका साना बालबालिकादेखि ६९ वर्षका ज्येष्ठ नागरिकहरूसम्म गरी ४०० भन्दा बढी खेलाडीहरू एउटै प्राङ्गणमा उत्रिएका थिए । समुदायस्तरमा खेलप्रतिको आकर्षण र व्यावसायिक व्यवस्थापनलाई चुस्त बनाएर गराइएको यस प्रतियोगिता, त्यसको उद्देश्य र भावी योजनाका विषयमा नेप्लेजका लागि प्रदीप लेखीले अग्रवाल युवा मञ्चका उपाध्यक्ष साकेत अग्रवालसँग गरेको कुराकानीको सम्पादित अंश :
अग्रवाल युवा मञ्चले तीन दिने खेल महोत्सव आयोजना गरिरहेको छ । यस महोत्सवमा कति खेलाडी सहभागी छन् र कुन-कुन खेलहरू भइरहेका छन् ?
हामीले यस वर्ष कूल ६ वटा खेल समावेश गरेका छौँ- इन्डोर क्रिकेट, फुटसल, ब्याडमिन्टन, टेबल टेनिस, स्विमिङ र पुल । सबै खेलहरू मिलाएर यस पटक ४०० भन्दा बढी खेलाडीहरू सहभागी हुनुहुन्छ । सामान्यतया ५०० देखि ६०० सम्म सहभागी हुने गरे पनि हालै देशमा आएको प्राकृतिक विपत्ति र बाटो घाटो अवरुद्ध भएका कारण संख्या केही घटेको हो ।
एउटै मञ्चमा ६ वटा खेल सञ्चालन गर्नु निकै चुनौतीपूर्ण काम हो, यसलाई कसरी सम्भव बनाउनुभयो ?
चुनौती पक्कै पनि छ । तर यो कार्य म एक्लैले गरेको होइन । अग्रवाल युवा मञ्चमा हामी ३६ जनाको टोली छौँ । हरेक सदस्यले विगत डेढ महिनादेखि निरन्तर मेहनत गरेर काम विभाजन (मिडिया, फुड, डिजाइनिङ आदि) गरी यसलाई व्यवस्थित बनाएका हौँ ।
विशेष गरी मारवाडी समुदायका युवाहरूलाई नै लक्षित गरेर खेल महोत्सव आयोजना गर्नुको खास कारण के हो ?
हाम्रो समुदायमा परम्परागत रूपमा व्यापार-व्यवसायलाई मात्र प्राथमिकता दिइन्थ्यो र खेलकुद वा कलालाई करिअरका रूपमा हेरिँदैनथ्यो । खेलकुद र अन्य प्रतिभालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो अभियान सुरु गरेका हौँ । हाम्रा खेलाडीहरूलाई सुरुमा आफ्नै समुदायभित्र प्रतिस्पर्धा गराएर दक्ष बनाउन खोजेका हौँ, ताकि भोलिका दिनमा उहाँहरूले राष्ट्रिय स्तरमा पनि प्रतिनिधित्व गर्न सकून् ।
एवाइएम खेल महोत्सव : टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ को दोहोरो जित
यस महोत्सवलाई कुन-कुन संघ-संस्था तथा ब्रान्डहरूले सहयोग गरेका छन् ?
यो एउटा सामुदायिक र सामाजिक इभेन्ट हो । यसमा मोहन खेतान फाउन्डेसन ‘टाइटल स्पोन्सर’का रूपमा रहेको छ भने ग्लोबल रिच ‘पावर बाइ’मा छ । त्यसैगरी त्रिवेणी ग्रुप, बीएलसी बिल्डिङ्स, फेमस होम एप्लायन्सेस, जेजे ज्वेलर्स र नेवारी राइस ब्रान्डलगायत अन्य थुप्रै ब्रान्डहरूले हाम्रो अवधारणालाई समर्थन गर्दै सहयोग गर्नुभएको छ ।
प्रतियोगितामा कुन-कुन उमेर समूहका खेलाडीहरूको सहभागिता छ ?
हामीसँग ५ वर्षका साना बालबालिकादेखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकहरूको सहभागिता छ । फुटसलमा १६ देखि ३८ वर्ष, क्रिकेटमा १४ देखि ५८ वर्ष, स्विमिङमा ५ वर्षका बालबालिकादेखि ६० वर्ष माथिका भेट्रान्स, ब्याडमिन्टनमा ८ देखि ६७ वर्ष र टेबल टेनिसमा ७ देखि ६३ वर्षसम्मका खेलाडीहरू मैदानमा उत्रिनुभएको छ ।
विजेताहरूका लागि कस्तो पुरस्कारको व्यवस्था गरिएको छ ?
हामीले ५१ हजार रुपैयाँदेखि ५ हजार १०० रुपैयाँसम्मको नगद पुरस्कार, ट्रफी र मेडलको व्यवस्था गरेका छौँ । उदाहरणका लागि, क्रिकेटमा प्रथम हुनेलाई ५१ हजार र दोस्रो हुनेलाई ३१ हजार तथा फुटसलमा प्रथम हुनेलाई ३१ हजार र दोस्रो हुनेलाई २१ हजार रुपैयाँ प्रदान गरिन्छ ।
घरमै बसेर हेर्नका लागि प्रत्यक्ष प्रसारण (लाइभ) को पनि व्यवस्था गर्नुभएको छ, भावी योजना के छ ?
व्यापार-व्यवसायका कारण मैदानसम्म आउन नसक्ने र अन्य दर्शकहरूका लागि हामीले क्रिकेट र फुटसलको डिजिटल प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका छौँ । आगामी एक-दुई संस्करणपछि पूर्वाधार र तयारी पूरा भएपछि यसलाई मारवाडी समुदायमा मात्र सीमित नराखी सम्पूर्ण नेपाली खेलाडीहरूका लागि खुला गर्ने हाम्रो सोच छ ।